देश अदृश्य शक्तिबाट सञ्चालन भइरहेको छ : दाहाल

नेकपाका सहसंयोजक माधवकुमार नेपालले विगतका कमजोरी स्वीकार्दै जनताको मनोभावनाअनुसार सुधार भएर अघि बढ्ने प्रतिबद्धता जनाए ।

पुस १८, २०८२

दीपेन्द्र शाक्य

The country is being run by an invisible force: Dahal

What you should know

संखुवासभा — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश अदृश्य शक्तिबाट सञ्चालित भइरहेको दाबी गरेका छन् । 

संखुवासभाको खाँदबारीमा शुक्रबार आयोजित पार्टी एकता सन्देशसभालाई सम्बोधन गर्दै दाहालले जनताको अधिकार र लोकतन्त्र कमजोर बन्दै गएको समेत बताए । 'देश चलाउने शक्ति देखिँदैन, तर उसले सबै कुरा नियन्त्रण गरिरहेको छ,' पूर्वप्रधानमन्त्री दाहालले भने, 'यही कारण जनताको अधिकार र लोकतन्त्र कमजोर बन्दै गएको छ ।'

उनले ठूलो शक्ति देखाउन नयाँ खुलेका दलका नेताहरुले पुराना नेताहरुलाई धाकधम्की दिएर एकीकरणको घोषणा गरिएको भन्दै कडा आपत्ति जनाए । 

अन्य दलहरू अझै नसच्चिएको अवस्थामा नेपाली कम्युनिष्ट पार्टी भने आत्मसमीक्षा गरेर अघि बढेको दाहालको भनाइ थियो । 'हामी जनतालाई धोका दिँदैनौं,' उनले भने, 'युवासँगै हिँड्न हामी तयार छौं, प्रतिस्पर्धाबाट डराउँदैनौं ।' 

राष्ट्र बचाउन, जनतालाई सुरक्षा दिन र देश जोगाउन नयाँ राजनीतिक शक्ति निर्माण नहुँदासम्म आफूहरू विश्राम नलिने उनले दृढता व्यक्त गरे । दाहालले नेपालका दुवै छिमेकी मुलुकलाई सन्तुलनमा राखेर अघि बढ्नु अपरिहार्य रहेको उल्लेख गरे । राष्ट्रिय स्वाधीनता र देशको हितका पक्षमा स्पष्ट नीति आवश्यक रहेको उनले बताए । 'छिमेकीसँग सम्बन्ध सन्तुलित हुनुपर्छ, न झुक्ने, न उचालिने,' उनले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक माधवकुमार नेपालले विगतका कमजोरी स्वीकार्दै जनताको मनोभावनाअनुसार सुधार भएर अघि बढ्ने प्रतिबद्धता जनाए । 'अब हामी जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउँछौं,' उनले भने, 'भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिनु हाम्रो प्रमुख लक्ष्य हो ।'

नेपालले पार्टीलाई जनमुखी, पारदर्शी र जिम्मेवार बनाउँदै जनताको भरोसा जित्ने दिशामा अघि बढ्ने बताए । उनले वर्तमान राजनीतिक अवस्थाबाट निराश भएका जनतालाई आशा दिलाउने जिम्मेवारी कम्युनिष्ट आन्दोलनको भएको उल्लेख गरे ।

सभामा केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेताहरूले पनि सम्बोधन गर्दै पार्टी एकता, राजनीतिक स्थायित्व र जनताको पक्षमा दृढ संघर्ष आवश्यक रहेको धारणा राखेका थिए ।

दीपेन्द्र

Link copied successfully