गायिका त्रिशला गुरुङले फिर्ता लिइन् रास्वपा समानुपातिक सूचीबाट नाम

गुरुङले राजनीतिक पदमा नरहँदा पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा आफ्नो क्षमता र विवेकअनुसार निरन्तर योगदान पुर्‍याइरहने समेत बताएकी छन् ।

पुस १८, २०८२

कान्तिपुर संवाददाता

Singer Trishala Gurung withdraws her name from the RSVP proportional list

काठमाडौँ — गायिका त्रिशला गुरुङले रास्वपा समानुपातिक सूचीबाट नाम फिर्ता लिएकी छन् । कला र स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान पुर्‍याउने संकल्प रहेकोले समानुपातिक सूचीबाट नाम फिर्ता लिने निर्णयमा पुगेको उनले शुक्रबार जनाएकी छन् । 

'गहन आत्ममूल्यांकनपश्चात् मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु । यस निर्णयको मूल कारण भनेको मेरो पेसागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्‍याउने मेरो दृढ संकल्प हो,' उनले फेसबुकमा धारणा सार्वजनिक गरेकी छन् । 

उनले पार्टीले देखाएको विश्वास, सम्मान र समर्थनलाई सदैव उच्च मूल्यांकन गर्ने र उक्त भरोसालाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन् । गुरुङले राजनीतिक पदमा नरहँदा पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा आफ्नो क्षमता र विवेकअनुसार निरन्तर योगदान पुर्‍याइरहने समेत बताएकी छन् ।

गुरुङ आदिवासी जनजाति महिला क्लस्टरबाट रास्वपाको समानुपातिक बन्दसूचीमा समेटिएकी थिइन् । 

कान्तिपुर

Link copied successfully