'भूगोल, जनसंख्याको प्रतिनिधित्व कसरी गराउने भन्ने संविधानमा नभएर हो, यो बेथिति रोक्न संविधानमा नै सुधार गर्नुपर्छ ।'
काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले संविधानले व्यवस्था गरेअनुसार समानुपातिक सूची चयन हुन नसकेको बताएका छन् ।
समानुपातिक व्यवस्थाको धज्जी उडाउने कार्य निरन्तर हुँदै आएको उनले बिहीबार राति एक भिडियो जारी गर्दै भनेका छन् । संसद्मा प्रतिनिधित्व हुन नसकेको समुदायलाई ल्याउनका लागि समानुपातिक व्यवस्था गरिएकामा पुराना र नयाँ दलहरूले त्यसो गरेको नपाइएको उनको भनाइ थियो । यसमा सुधार गर्नका लागि अब संविधान नै संशोधन गर्नुपर्ने उनले बताए ।
'अहिले शक्तिशाली नेताहरूले निर्वाचन जित्नका लागि आफ्नो निर्वाचन क्षेत्रबाट ५-६ जना, जिल्लाबाट १०-११ जनासम्म राख्ने कार्य नयाँ र पुराना सबैले गरे । किनभने भूगोल, जनसंख्याको प्रतिनिधित्व कसरी गराउने भन्ने संविधानमा नभएर हो,' उनले भने । यो बेथिति रोक्नका लागि संविधानमा नै सुधार गर्नुपर्ने उनको प्रस्ताव छ ।
