अछाम–१ मा भीम रावल र अछाम–२ मा भूपदेव शाहले उम्मेदवारी घोषणा गरेपछि प्रमुख दलहरूले उम्मेदवार चयन र तयारीमा व्यापक चासो देखाएका छन्।
What you should know
अछाम — नेपाली राजनीतिका चर्चित अनुहारले अछामबाट चुनाव लड्ने घोषणा गरेपछि फागुन २१ को निर्वाचनका लागि अछाम यतिबेला चर्चामा छ ।
एमालेका पूर्वउपाध्यक्ष भीम रावल अछाम–१ बाट र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछाम–२ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।
मंगलसेन नगरपालिका–४ स्थायी घर भएका शाहले चुनाव लड्ने मनस्थितिमा पुगेको बताए । ‘अछामको मात्रै होइन, देशभरको चुनावी माहोल बनाउने दृष्टिकोणले तयारी गरिरहेका छौं । अछाम–२ बाट प्रत्यक्ष चुनाव लड्नका लागि पार्टीमा आवेदन दिएको छु । टिकट दिने नदिने त पार्टीको कुरा भयो,’ शाहले भने, ‘मेरो जिम्मेवारी सुदूरपश्चिममा चुनावको माहोल बनाउने पनि हो । एक साताभित्र जिल्ला भ्रमणमा निस्कन्छौं ।’
नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट अछाम–१ मा पहिलो नम्बरमा सिफारिस भएका नेता रावल पनि चुनावी तयारीमा रहेका छन् । २०७९ मा अछाम क्षेत्र नम्बर १ बाट एमालेको तर्फबाट एकल सिफारिस भए पनि अध्यक्ष ओलीले रावललाई उम्मेदवार हुनबाट रोकेका थिए । पार्टीबाट उम्मेदवार नबनेपछि बिच्किएर पार्टीविरुद्ध बोल्दा एमालेले रावललाई संगठित सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । त्यसपछि मातृभूमि जागरण अभियान सञ्चालन गरेका रावल हालै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि अछाम क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् ।
एमालेको तर्फबाट रावल सातौँ पटकसम्म उम्मेदवार भएका थिए । अछाम–१ बाटै २०४८ मा कांग्रेसका बलबहादुर कुँवरसँग पराजित भएका थिए । त्यस्तै, २०५१ मा विजयी भए भने २०५६ मा कांग्रेसका गोविन्द शाहसँग पराजित भए ।
२०६३ मा अन्तरिम संसद्को ७२ सदस्यीय टोलीमा पनि एमालेको तर्फबाट रावल परेका थिए । २०६४ मा समानुपातिक सभासद भए । त्यस्तै २०७० र २०७४ मा प्रत्यक्षतर्फबाट चुनाव जितेका थिए । २०७४ मा रावल आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा ७ हजार बढी मतले विजयी भएका थिए । उनकै निर्वाचन क्षेत्रमा २०७९ मा भने एमाले करिब साढे ४ हजार मतले पराजित भएको थियो, जबकि रावल त्यतिबेला एमालेमै थिए ।
अछाम–१ मा नेपाली कम्युनिष्ट पार्टीको अवस्था अन्य दलभन्दा राम्रो भएको नेताहरूको दाबी छ । ‘प्रत्यक्षमा दुवै निर्वाचन क्षेत्रबाट ५/५ जना सिफारिस गरेका छौं । अछाम–१ बाट नेता रावल एक नम्बरमै सिफारिस भएका छन्,’ नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश शाहले भने, ‘पुस २७ मा केन्द्रीय कमिटीको बैठकपछि टोल–टोलमा चुनावी कार्यक्रम लैजाने तयारी छ । अछाम–१ मा हामी अहिले पनि बलियो अवस्थामा छौं ।’
उनका अनुसार पार्टीको समानुपातिक बन्द सूचीमा अछामबाट निर्मला साउद र भीमबहादुर भण्डारी (प्रवासी) परेका छन् । ‘संसद् पुनःस्थापना हाम्रो एजेन्डा होइन, जनादेश लिएर संसद्मा जानुपर्छ भनेर हामी लागिरहेका छौं,’ शाहले भने, ‘पार्टी एकताको सन्देश गाउँ–गाउँसम्म पुर्याउनुछ ।’
नेपाली कांग्रेस भने एकातिर पार्टीको महाधिवेशन र अर्कोतिर आम निर्वाचनको चपेटामा परेको छ । आम निर्वाचन र पार्टीको आन्तरिक निर्वाचनको अन्योलले निराशा छाएको कांग्रेस अछामका सचिव टक्कर शाह बताउँछन् । एकातिर संसद् पुनःस्थापना हुन्छ कि भन्ने आशा, निर्वाचन नै हुन्छ कि हुँदैन भन्ने अन्योल र पार्टीको महाधिवेशनले नेता–कार्यकर्तालाई चुनावी माहोलले नछाएको उनले बताए ।
‘पार्टीको आन्तरिक चुनाव र आम निर्वाचनको विषयले पार्टीभित्र अन्योल छ । चुनावी माहोल बनिसकेको जस्तो लाग्दैन । कांग्रेसमा मात्रै होइन, अन्य पार्टीमा पनि यस्तै देखिन्छ,’ उनले भने, ‘पार्टीले गाउँमा चुनावी कार्यक्रम केही सुरु गरेको छैन । नेताहरू काठमाडौंकेन्द्रित छन् । नयाँ दलको आगमन र पुराना दलको निराशाले केही अन्योल अझै देखाएको छ ।’ उनका अनुसार कांग्रेसको तर्फबाट अछाम–१ बाट १० जना र अछाम–२ बाट १८ जनाले प्रत्यक्षतर्फको उम्मेदवारका लागि पार्टीले सिफारिस गरेको छ । पार्टीको समानुपातिक बन्द सूचीमा भने अछाम–२ का टेकबहादुर विक परेका छन् ।
नेकपा एमाले अहिले उम्मेदवार सिफारिसको तयारीमा जुटेको जिल्ला सचिव हिरण्ड भट्टराईले बताए । उनका अनुसार केन्द्रीय पार्टीको सर्कुलरअनुसार दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा पुस २० गते क्षेत्रीय समन्वय कमिटीको बैठकबाट उम्मेदवार हुन चाहनेको नाम टिपोट गर्ने, २२ गतेभित्र जिल्ला पार्टीले उक्त नामहरूमा राय दिएर प्रदेशमा पठाउने र २४ गते प्रदेशले समेत नामहरूमा राय दिएर केन्द्रमा पठाउने प्रक्रिया रहेको छ ।
अछाम–१ बाट एमालेले कृष्णप्रसाद भट्टराई र झपट बोहरामध्ये एक जना तथा अछाम–२ बाट यज्ञबहादुर बोगटीलाई उम्मेदवार बनाउने पहल गरिरहेको एमाले नेताहरू बताउँछन् । ‘हाम्रो प्रतिस्पर्धा अछामका दुवै निर्वाचन क्षेत्रमा कांग्रेससँग मात्रै हो । अन्य दलले केही मत काटे पनि प्रतिस्पर्धा नै हुन्छ भन्न सुहाउँदैन,’ उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि पहिलो पटक अछाममा प्रत्यक्षतर्फ आफ्नै उम्मेदवार उठाउने तयारी गरिरहेको छ । रास्वपा नेताका अनुसार अछाम–१ बाट ओमप्रकाश रावल र अछाम–२ बाट जीवन तिमिल्सैना उम्मेदवारका लागि तयारी गरिरहेका छन् । तर बालेन शाहका स्वकीय सचिव भूपदेव शाह र अन्य केही चर्चित अनुहार पनि अछामबाट चुनाव लड्ने घोषणासँगै अहिले रास्वपा नेताहरूमा उम्मेदवार बन्न रस्साकस्सी चलिरहेको छ ।
‘रास्वपाले प्रवासमा रहेका मतदातालाई बढी फोकस गरेको छ । भारतमा रहेका करिब ५ हजार मतदाता रास्वपालाई मतदान गर्न आउने तयारीमा छन्,’ रास्वपा अछामका नेता जीवन तिमिल्सैना भन्छन्, ‘यो पटक धेरैको मत परिवर्तन हुन्छ । हामी सोहीअनुसार तयारी गरिरहेका छौं ।’
