भेटमा सभापति देउवाले पार्टी विभाजन नहोस् भन्ने आफ्नो चाहना रहेको बताए।
काठमाडौँ — कांग्रेसका २५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन रोक्नुपर्ने भन्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरेर विशेष महाधिवेशनको लागि आह्वान गरेपछि नेताहरूले शुक्रबार बिहान सभापति देउवालाई भेटेर विशेष महाधिवेशनले पार्टी विभाजनको बाटोमा अघि बढ्ने भन्दै रोक्न माग गरेका हुन्। भेटमा सभापति देउवाले आफूले पार्टी विभाजन नहोस् भन्ने चाहेको बताएका छन्।
भेटमा संलग्न केन्द्रीय सदस्य डिला संग्रौलाले सभापति देउवाले आफू पार्टी विभाजन होस् भन्ने पक्षमा नरहेको बताएको जानकारी दिइन्।
'हामीले विशेष महाधिवेशन रोक्नुपर्छ। नत्र पार्टी विभाजनसम्म जान सक्छ भनेर सभापतिजीको ध्यानाकर्षण गराएका छौँ,' उनले भनिन्, 'उहाँले पनि विभाजनको बाटो ठीक होइन भन्ने धारणा राख्नुभयो। हामीले नियमित महाधिवेशनले यो विवादको समाधान गर्न सक्छ भनेर सुझाव दिएका छौँ।'
उनका अनुसार उक्त समूहले आजै (शुक्रबार) महामन्त्रीद्वय थापा र शर्मासँग पनि छलफल गर्ने तयारी छ।
