रास्वपा प्रवेश गरेर विष्णु पौडेलको निर्वाचन क्षेत्र रूपन्देही-२ बाट चुनाव लड्ने तयारी
What you should know
बुटवल — नेकपा एमालेका नेता एवम रूपन्देही-५ बाट प्रतिनिधिसभाका निवर्तमान सांसद बासुदेव घिमिरेले एमाले छोडेको घोषणा गरेका छन् ।
मंगलबार राति सामाजिक सञ्जालमा पोष्ट गर्दै घिमिरेले आबद्ध पार्टीको जिम्मेवारीमा नरहेको घोषणा गरेका हुन् । तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुखसमेत रहेका उनी एमालेको ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको भन्दै आजको दिनदेखि आफू संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको घोषणा गरेका हुन् ।
‘अहिले आम जनताको चाहना सुशासन, विकास, समृद्धिका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि रहेको छ,’ उनले लेखेका छन्, ‘देशको आवश्यकता, ईतिहासको गति, आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । देशप्रतिको अविचलित निष्ठा, सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य शर्त हो । पुराना दलहरूको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिनदेखि म संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको छु ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्टीमा समाहित हुन प्रस्ताव आएको, प्रस्तावमा सकारात्मक रहे पनि निर्णयमा नपुगेको बताए । उनले सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने अभियानमा इमान र निष्ठाका साथ सदैव आफू सबैसँग सँगसँगै रहने प्रतिबद्धता पनि जनाएका छन् ।
रास्वपा स्रोतका अनुसार उनी रूपन्देही-२ बाट चुनाव लड्ने गरी छलफलमै छन् । रूपन्देही-२ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल चुनाव लड्दै आएका छन् ।
