सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता दण्डपाणि न्यौपानेकी छोरी निशा न्यौपानेलाई नेकपाले समानुपातिक सूचीमा राखेको छ ।
काठमाडौँ — नेकपाले तत्कालीन माओवादी सशस्त्र युद्धको सुरुवात गर्ने संस्थापक केन्द्रीय समितिका सदस्यमध्ये एक दण्डपाणि न्यौपानेकी छोरी निशा न्यौपानेलाई समानुपातिक सूचीमा राखेको छ । पार्टीले उनलाई महिलाको खसआर्यतर्फको समानुपातिक सूचीमा राखेको हो ।
निशा न्यौपानेका बुबा दण्डपाणि न्यौपानेलाई २०५६ साल जेठ ७ गते काठमाडौंको सुन्धाराबाट सादा पोसाकका प्रहरीले गिरफ्तार गरेपछि हालसम्म पनि बेपत्ता छन् । बेपत्ताको पीडा भोगे पनि न्यौपाने परिवार माओवादी राजनीतिमा निरन्तर सक्रिय रहँदै आएको छ ।
शिक्षामा स्नातकोत्तर गरेकी निशा विद्यार्थी राजनीतिबाट तत्कालीन माओवादीमा आबद्ध भएकी थिइन् । हाल उनी पार्टीको केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिकाकी इन्चार्ज पनि हुन। साथै, उनी बेपत्ता योद्धा परिवार समाजको केन्द्रीय इन्चार्जको जिम्मेवारीसमेत सम्हाल्दै आएकी छन् ।
उनकै बुवा संस्थापक रहेर स्थापना भएको चितवनस्थित हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालय जिल्लामा उत्कृष्ट नतिजा ल्याउने मध्ये एक सामुदायिक विद्यालय हो ।
