समानुपातिक सूचीमा पर्न नहुने मान्छे परेको रहेछ भने नाम काटिन्छ : रवि लामिछाने

परिवारवादमा रास्वपा स्पष्ट छ । विधानले नै दिँदैन : सभापति लामिछाने

पुस १६, २०८२

दीपक परियार

If someone who should not be included in the proportional list is included, their name will be removed: Ravi Lamichhane

पोखरा — रास्वपा सभापति रवि लामिछानेले समानुपातिकतर्फको बन्दसूचीमा विधिविपरीत नाम परेको भए काटिने बताएका छन् । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले पार्टीको बन्दसूचीमा परिवारवाद र विधिविपरीत नाम समावेश भएको विवादबारे प्रतिक्रिया दिँदै सूचीको समीक्षा गर्ने बताए ।

‘हामी सचेत छौं । समयले गर्दा अरू पनि केही विवाद छन् कि भनेर हामी कुरिरहेका छौं । पर्न नहुने मान्छे परेको रहेछ, कुनै पनि हिसावले विधिभन्दा बाहिर रहेछ भने त्यो नाम काटिन्छ,’ उनले भने ।

उनले पार्टीको विधानमा नै परिवारवादलाई निषेध गरिएको र राइट टु रिकलसम्बन्धी व्यवस्था गरिएको स्पष्ट पारे । ‘परिवारवादमा रास्वपा स्पष्ट छ । विधानले नै दिँदैन । कथंकदाचित सबै विधिहरू नाघेर कोही जानु नै भएछ भने पनि राइट टु रिकलसम्बन्धी व्यवस्था रास्वपाको विधानले गरेको छ,’ उनले थपे ।

उनले कुलमान घिसिङसँगको सहकार्य र समानुपातिक सूची तयार गर्ने प्रक्रियामा समय अभाव भएको स्वीकार गरे । भने, ‘उता सूची बुझाउनु छ, यता सहमति हुँदै थियो । यी विभिन्न कारणहरूले हो । त्यहाँ केही समस्या भएको हो भने हामी हेर्न सकौंला भनेर पनि हो ।  हामीले हेर्छौं भनेकै छौं ।’ उनले रास्वपा, बालेन र कुलमानको सहकार्यलाई भागबन्डा नभई जिम्मेवारी बाँडफाँडका रूपमा प्रस्तुत गरे ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully