कांग्रेस महाधिवेशनको तालिका प्रभावित

पूर्वनिर्धारित तालिकाअनुसार नियमित महाधिवेशन हुन नसकेपपछि महामन्त्री गगन थापाले विशेष महाविधेशनको प्रस्ताव गरेका छन् ।

पुस १६, २०८२

कान्तिपुर संवाददाता

Congress convention schedule affected

काठमाडौँ — कांग्रेस १५औं महाधिवेशनको तालिका प्रभावित भएको छ । पूर्वनिर्धारित तालिकाअनुसार नियमित महाधिवेशन हुन नसकेपपछि महामन्त्री गगन थापाले विशेष महाविधेशनको प्रस्ताव गरेका छन् ।

तर, संस्थापन पक्ष निर्वाचन अगाडि कुनै पनि महाधिवेशनको पक्षमा देखिएको छैन । जुन विवादका कारण पूर्वनिर्धारित तालिका संशोधन हुन सकेको छैन ।

बुधबारदेखि वडा अधिवेशन सुरु हुने तालिका थियो । तर, अधिवेशन सुरु हुने दिनसम्म  महाधिवेशनका प्रारम्भिक मतदाता रहेका  क्रियाशील सदस्यताकै टुंगो लाग्न सकेको छैन । सदस्यताको वितरण र नवीकरण गरेर सबै जिल्लाबाट केन्द्रमा आइसकेका छैनन ।

यसअघिको मंसिर १५ गतेको बैठकले पुस २६–२८ मा केन्द्रीय अधिवेशन सम्पन्न गर्नेगरी सातै तहका अधिवेशनको तालिका ल्याएको थियो ।

पुस १४ सम्ममा क्रियाशील सदस्यताको सबै काम सम्पन्न गरी १६ गतेबाट वडा, पुस १७ गते गाउँ, नगरपालिका, पुस १९ गते प्रदेशसभा क्षेत्रीय, पुस २१ गते प्रतिनिधिसभा क्षेत्रीय, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएकोमा जिल्ला अधिवेशनसमेत र दुई भन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्लाको अधिवेशन पुस २२ मा राखिएको थियो ।

पुस २३ र २४ गते प्रदेश अधिवेशन सकेर पुस २६-२८ केन्द्रीय महाधिवेशन गर्ने तालिका थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully