रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका अधिकारकर्मी मोहना अन्सारीले समानुपातिकको बन्दसूची हेर्दा सन्तुष्ट हुन नसकिने बताइन् ।
What you should know
काठमाडौँ — दलहरूले समानुपातिक सूची पहुँचवालाकै हालीमुहाली हुने गरी बनाएको भन्दै समानुपातिककै उम्मेदवार र नेताहरूले असन्तुष्टि जनाएका छन् ।
कान्तिपुर टेलिभिजनको कार्यक्रम सरोकारमा कुरा गर्दै रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका अधिकारकर्मी मोहना अन्सारीले समानुपातिकको बन्दसूची हेर्दा सन्तुष्ट हुन नसकिने बताइन् ।
६४ सालको संविधानसभा निर्वाचनपछि समानुपतिक प्रतिनिधित्व त्यसको मर्मअनुरूप हुन नसकेको भन्दै उनले भनिन्, 'मैले केहीको देखेको छु, मलाई फेरि व्यक्तिगत प्रश्न गर्नुहोला म सन्तुष्ट हुन सकेको छैन, अहिले पनि धेरै राजनीतिक दलमा नचिनिएका व्यक्तिहरू तर अचानक आएको तर लामो राजनीतिक लगानी भएका व्यक्तित्वहरू पर्नु भएको छैन ।'
यस्तै कार्यक्रममा कांग्रेस नेता रामहरि खतिवडाले कांग्रेसबाट समानुपातिक सूचीमा खस आर्यको पहिलो नम्बरमा अर्जुननरसिंह केसीको नाम राखेकोमा असन्तुष्टि जनाउँदै उनलाई आफ्नो नाम फिर्ता लिन आग्रह गरे । उनले भने, '३६ सालदेखि निरन्तर चुनाव लड्नेले अब म चुनाव लड्दिनँ है भनेर घोषणा पनि गर्ने अनि समानुपातिकमा १ नम्बरमा राख्दिनुस् भनेर अलापविलाप गर्ने, यो राजनीति अब अन्त्य हुनुपर्छ । म त उहाँलाई सार्वजनिक रुपमा आग्रह गर्न चाहन्छु, आफ्नो नाम समानुपातिकबाट फिर्ता लिनुपर्छ ।'
यस्तै कार्यक्रमका सहभागी सामाजिक अभियन्ता सुमन सायमिले राजनीतिक रूझान नै नभएका व्यक्तिहरू समानुपातिकबाट छिर्न खोजेको तर उनीहरूले केही काम गर्न नसक्ने दाबी गरे । अहिले समानुपितकमा देखिएका धेरै व्यक्ति पैसाको बलबुता वा नातावाद र कृपावादबाट आएको उनको भनाइ थियो । 'उनीहरूले साँच्चै देश बनाउँछन्, जनताले सोचिरहेका छन् समानुपातिकमा गएपछि संसद्मा के बोल्लान, के गर्लान् ?' सायमीको प्रश्न थियो ।
कार्यक्रम सरोकार आज राति १० बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ भने कान्तिपुर टेलिभिजनको युट्युब च्यानलमा ९ बजे हेर्नसकिने छ ।
