कलाकार प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्ल र रिमा विश्वकर्मासम्मको नाम समानुपातिक सूचीमा ।
काठमाडौँ — रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका मेयर बालेन्द्र शाहको समूह र कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टीसँग एकता प्रक्रिया टुंग्याएपछि सोमबार मध्यराति समानुपातिकको बन्द सूची निर्वाचन कार्यालयमा बुझाएको छ ।
सोमबार मध्यराति साढे १ बजे रास्वपाको टोली निर्वाचन कार्यालय पुगेको हो । 'समानुपातिकतर्फ १ सय १० जनाको नाम टुंगो लगाई भर्खरै मात्र निर्वाचन कार्यालयमा बुझाएका छौं,' रास्वपा सचिवालय सदस्य गणेश पराजुलीले ईकान्तिपुरसँग भने ।
समानुपातिक सूचीमा बालेन्द्र समूहका ४० जना, उज्यालो नेपालका १८ जनाका साथ बाँकी विवेकशील साझा र रास्वपाका रहेको स्रोतले जनाएको छ । समानुपातिक बन्द सूचीमा कलाकार प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्ल र रिमा विश्वकर्मासम्मको नाम समेटिएको छ ।
रास्वपाले काठमाडौंका मेयर बालेन्द्रको समूह र कुलमान संलग्न रहेको उज्यालो नेपाल पार्टीसँग एकता गर्नुपूर्व विवेकशील साझालाई पनि पार्टीमा समाहित गरेको थियो ।
