एमालेको समानुपातिक सूचीमा रूपन्देहीबाट कोही नपरेपछि चर्को असन्तुष्टि

'रूपन्देहीबाट कसैको नाम नपरेको सूचना सत्य हो जस्तो मलाई लाग्दैन,’ एमाले रूपन्देही अध्यक्ष यज्ञ गैरेले भने, ‘यदि त्यस्तो नै हो भने त्यो दुःखद हो ।’

पुस १५, २०८२

घनश्याम गौतम

Strong dissatisfaction after no one from Rupandehi is included in UML's proportional list

What you should know

बुटवल — नेकपा एमाले रूपन्देहीले सिफारिस गरेका कोही पनि नेता–कार्यकर्ता समानुपातिक सूचीमा समावेश नभएपछि एमालेमा असन्तुष्टि बढेको छ । एमाले रूपन्देहीले समानुपातिक सूचीका लागि रूपन्देहीबाट विभिन्न कलस्टरबाट १२ जनाको नाम सिफारिस गरेको थियो । तर, तिनीहरूमध्ये कसैको पनि नाम समावेश नभएको भन्दै पार्टी नेतृत्वकै आलोचना बढेको छ ।

एमाले जिल्ला कमिटीका एक नेताका अनुसार एमालले रूपन्देहीबाट समानुपातिक तर्फको खस आर्यमा नन्दीकेशर ढकाल, भूमिलाल सापकोटा, बुद्धिसागर भट्टराई, महिलामा गोमा आचार्य, मधेसीमा सुनिता ठटेर, मुस्लिममा एजाज आलम, थारुमा खुसीराम चौधरी, दलितमा एकराज विश्वकर्मा र जोगलाल विश्वकर्मा, आदिवासी जनजातितर्फ खेमराज गुरुङ, जनजाति महिलामा हिरामाया थापा र अपांगता भएकाबाट सावित्रा घिमिरे सिफारिस गरेको थियो । तीमध्ये कुनै पनि नाम समानुपातिकको सूचीमा नपरेका हुन् । 

एमाले रूपन्देही अध्यक्ष यज्ञ गैरेले सिंगो जिल्लाबाट समानुपातिक सूचीमा कसैको नाम नपर्ने कुरा दुःखद भएको बताए । 'रूपन्देहीबाट कसैको नाम नपरेको सूचना सत्य हो जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘यदि त्यस्तो नै हो भने त्यो दुःखद हो । मैले बुझ्दै छु ।’ दुई लाख बढी मतदाता रहेको जिल्लाबाट एक जना पनि नपरेको भए त्यसले समग्र पार्टीलाई नै हिन नगर्ने उनले बताए । 

तर, नेकपा एमालेकै लुम्बिनी प्रदेश कमिटी सदस्य रहेकी मञ्जु भुसाल र युवा संघकी केन्द्रीय सदस्य श्रद्धा कुँवर भने रास्वपाबाट समानुपातिक सूचीमा समेटिएका छन् । दुईमध्ये कुँवर रास्वपाबाटै र भुसाल कुलमानको पार्टीबाट समावेश भएको एक नेताले बताए । एमालेको ११ औं महाधिवेशनमा प्रतिनिधि छनोटमा पराजित भएकी भुसाल गत सोमबारसम्म पनि एमालेमै क्रियाशील रहेकी थिइन् । युवा संघको केन्द्रीय सदस्य बनेर काम गरेकी कुँवरले भने भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन र प्रदर्शनपछि युवा संघ छोडेको घोषणा गरेकी थिइन् । रास्वपाको समानुपातिक सूचीमा परेकी ज्ञानु पौड्याल पनि पूर्व एमाले कायकर्ता हुन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully