नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेस गरेको प्रतिनिधिसभा सदस्यको समानुपातिक उम्मेदवारमा कर्णाली प्रदेशबाट ९ जना परेका छन् ।
सुर्खेत — नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेस गरेको प्रतिनिधिसभा सदस्यको समानुपातिक उम्मेदवारमा कर्णाली प्रदेशबाट ९ जना परेका छन् ।
कर्णाली प्रदेशका १० जिल्ला र १२ निर्वाचन क्षेत्रमध्ये ८ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेस केन्द्रीय सदस्य मानबहादुर नेपालीसहितका नेताहरु समेटिएका हुन् ।
राष्ट्रिय दलित आयोगका पूर्वअध्यक्ष नेपाली रुकुम पश्चिमका हुन् । उनी यसअघि पनि समानुपातिक सूचीमा परे पनि सांसद बन्न पाएनन् ।
कांग्रेसले समानुपातिक सूचीमा समावेश गरेका सबैजसो नेताहरु यसअघि सांसद बनेका छैनन् ।
कांग्रेसको सूचीअनुसार डोल्पाबाट गोमा केसी, सल्यानबाट ध्रुवबहादुर मल्ल, मुगुका रोम रोकाय र कालिकोटका कालिबहादुर सहकारी समानुपातिक उम्मेदवार बनेका छन् । सहकारी कांग्रेस कर्णाली प्रदेश उपसभापति हुन् । त्यस्तै, सुर्खेतकी पार्वतीकुमारी गिरी, हुम्लाका ताराबहादुर लामा, जाजरकोटकी हजारी नेपाली (वादी) र दैलेखबाट सरस्वती श्रेष्ठले समानुपातिकतर्फको बन्दसूचीमा प्रतिनिधित्व गरेका छन् । हजारी पूर्वविद्यार्थी नेता हुन् ।
