नेकपा र नाउपाबीच एकता हुने

एकीकरणपछि पार्टीको नाम नेकपा र चुनाव चिह्न तारा नै रहने

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Unity between NCP and NAUPA

काठमाडौँ — नेकपा र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण हुने भएको छ । सोमबार नेकपाका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माध‍वकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष र रञ्जिता श्रेष्ठबीच पार्टी एकतासम्बन्धी सहमति भएको हो ।

 सहमतिअनुसार दुई पार्टी एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न तारा नै रहने छ । दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिस्ट पार्टीको सदस्य हुने पनि सहमतिमा उल्लेख छ ।

त्यस्तै टीकापुर घटनाका सम्बन्धमा कुनै पनि व्यक्तिलाई प्रतिशोधका आधारमा लगाइएका झुट्टा मुद्दाको खारेजी र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने पनि सहमतिको बुँदामा उल्लेख छ ।

यसअघि श्रीमान् रेशम चौधरी रहेको नाउपा नेपालसँग एकता गर्ने भने पनि रञ्जिता नेतृत्वको नाउपा नेकपासँगको एकीकरण प्रक्रियामा जाने भएको हो । करिब ४ महिनाअघि पार्टीबाट अलग भएका रेशमले कात्तिक २ गते कबिर सोबको नेतृत्वमा नाउपा नेपाल गठन गरेका थिए । रेशम र रञ्जिताले पुस १२ गतेका लागि पार्टी एकीकरणको समयसमेत तोकेका थिए । 

यस्तो छ नेकपा र नाउपाबीचको एकता

१. विगतमा पार्टी र राज्यका विभिन्न निकायहरूमा जिम्मेवारी वहन गर्दा भए गरेका सवल र दुर्वल पक्षहरूको वस्तुनिष्ठ समीक्षा गर्दै कमी कमजोरीहरू सच्याउने र सङ्घीयता, सुशासन, समृद्धि र सामाजिक न्यायको माध्यमबाट समाजवादको दिशामा अगाडि बढ्ने । २. मुलुकको सार्वभौमिकता, स्वाधीनता र भूअखण्डताको रक्षा गर्दै पहिचान र अधिकारसहितको सङ्घीय समाजवादी गणतन्त्र प्राप्तिको रणनीतिक लक्ष्य प्राप्तिका लागि सडक, सदन र सरकार तीनवटै क्षेत्रवाट सङ्घर्षरत रहने ।

३. समाजवादका लागि नेपालको मौलिक वाटोको रूपमा सङ्घीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य मान्यता, वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय विभेदको अन्त्य तथा समतामूलक, न्यायपूर्ण र विभेदरहित समाज निर्माण गर्ने कामको पहलकदमी र नेतृत्व गर्दै नेपाली विशेषताको समाजवादलाई पार्टीको कार्यक्रमको रूपमा अङ्गिकार गर्ने र त्यसको आधारमा देशको सामाजिक-आर्थिक रूपान्तरणका लागि कटिबद्ध रहने ।

४. पार्टीलाई सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्व तथा सङ्घीयतालाई आत्मसात गर्दै जनवादी केन्द्रीयताको सङ्गठनात्मक पद्धतिअनुरूप सञ्चालन गर्ने ।

५. नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणपश्चात् पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी र चुनाव चिन्ह तारा रहने छ । दुवै पार्टीवाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जन प्रतिनिधिहरु स्वतः नेपाली कम्युनिष्ट पार्टीको सदस्य हुनेछन्।

६. नागरिक उन्मुक्ति पार्टीको सङ्गठनात्मक संरचनामा रहेका केन्द्रीय समितिलगायत साविकका सम्पूर्ण समितिहरू र जनवर्गीय सङ्गठनहरू आपसी सहमतिको आधारमा नेपाली कम्युनिष्ट पार्टीमा समायोजन गर्ने ।

७. नेपालको वर्तमान संविधानको सकारात्मक पक्षहरूको रक्षा र सुदृढीकरण गर्दै शासकीय स्वरूप, निर्वाचन प्रणाली, सङ्घीय संरचनाको सवलिकरणलगायतका विषयमा नवयुवा पुस्ताको समेत भावनाको आधारमा राष्टको सर्वोपरी हितमा सविधान संशोधन र अग्रगामी परिमार्जन गर्न पहल गर्ने ।

८. राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिकरूपले वहिष्करणमा परेका वा पारिएका महिला, थारु, मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, पिछडा वर्ग, अल्पसङ्ख्यक समुदाय, विपन्न वर्ग पिछडिएको क्षेत्रलगायतका सीमान्तीकृत वर्ग र समुदायहरूलाई राज्यका सबै अड्ग, तह र निकायमा समानुपातिक समावेशीकरणको प्रत्याभूति गराउने ।

९. देशका श्रमिक वर्ग र उत्पीडित समुदायहरूको एकतामा जोड दिदै समाजवादी क्रान्तिका लागि राष्ट्रिय शक्ति निर्माणका लागि पहल गर्ने

१०. टीकापुर घटनाका सम्बन्धमा कुनैपनी व्यक्तिलाई प्रतिशोधका आधारमा लगाइएका झुट्टा मुद्धाको खारेजी र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने ।

कान्तिपुर संवाददाता

Link copied successfully