सरकारले युवाहरूसँग केही दिनअघि मात्रै सम्झौता गरेको तर कुनै पनि कुराहरू अघि नबढाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्ने जेन-जीको मागलाई सरकारले बेवास्ता गरेको बताएका छन् ।
जनकपुरमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उनले पहिला संविधान संशोधन र त्यसपछि मात्रै निर्वाचन गर्नुपर्ने युवाहरुको माग रहेको उल्लेख गरे ।
सरकारले युवाहरूसँग केही दिनअघि मात्रै सम्झौता गरेको तर कुनै पनि कुराहरू अघि नबढाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले आन्दोलनकारी युवालाई सरकारले धोका दिएको बताए ।
‘चुनावभन्दा पहिला संविधान संशोधन हुनुपर्छ । जे माग युवा पुस्ताले राखेका छन्, युवा पुस्तासँग सरकारले संविधान संशोधनलगायतका विषयमा सम्झौता गरेको छ । त्यो अलिकति पनि अघि बढेको छैन । आन्दोलनकारी युवाहरूको साथमा धोका भएको छ । युवाहरूलाई मजाक बनाइएको छ । तर पनि लोकतन्त्रमा निर्वाचन महत्त्वपूर्ण हुन्छ । चुनाव लड्न तयार छौँ । हामी जनताको अधिकारका लागि लड्न तयार छौँ,’ उनले भने ।
