समानुपातिकमा कांग्रेसभित्रै भागबण्डा : संस्थापनलाई ६० र इतर पक्षलाई ४० प्रतिशत

संस्थापन पक्षले ६० प्रतिशत राखेर इतरपक्षभित्र महामन्त्री गगन थापा र नेता शेखर कोइराला समूहलाई ४० प्रतिशत छुट्याइएको हो । संस्थापन पक्षभित्र पनि विभिन्न उपसमूह छन् ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Proportional distribution within the Congress: 60 percent for the establishment and 40 percent for other parties

काठमाडौँ — कांग्रेसले संस्थापन र इतर पक्षलाई ६०/४० भागबण्डाका आधारमा समानुपातिक उम्मेदवार छनोट गर्ने भएको छ ।

कांग्रेसका एक नेताका अनुसार संस्थापन पक्षले ६० प्रतिशत राखेर इतरपक्षभित्र महामन्त्री गगन थापा र नेता शेखर कोइराला समूहलाई ४० प्रतिशत छुट्याइएको हो । संस्थापन पक्षभित्र पनि विभिन्न उपसमूह छन् ।

पूर्वपदाधिकारीमध्ये प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र शशांक कोइरालाले आफ्नो समूह चलाएका छन् । आफ्नो समूहका व्यक्तिहरुलाई समानुपातिकमा ल्याउन उनीहरुको तीव्र दबाब संस्थापन पक्षभित्रै छ ।

यता, इतर पक्षमा महामन्त्री थापा र कोइरालापक्षबीच पनि छुट्टाछुट्टै समूह छन् । उनीहरुबीच पनि आआफ्नो मान्छे राख्नका लागि प्रतिस्पर्धा छ । अनौपचारिक तहमा मोटामोटी सूची टुंग्याएपछि मात्रै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर अनुमोदन गर्ने तयारी छ । त्यसपछि निर्वाचन आयोगमा जाने योजना कांग्रेसको छ । 

कांग्रेसले यसपटक समानुपातिक भइसकेकाहरुलाई उम्मेदवार नबनाउने नीति बनाएको छ । प्रदेश सांसद भएका, प्रदेशको समानुपातिक सूचीमा रहेकाहरुले समेत उम्मेदवार हुन नपाउने भएका छन् ।

अघिल्लोपटक पूर्वपरराष्ट्रमन्त्री आरजु राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँण, पार्टी प्रवक्ता प्रकाशरण महत, पूर्वउपसभापति विमलेन्द्र निधिजस्ता व्यक्तिले समानुपातिक तर्फको 'सिट कब्जा' गरेको भन्दै सार्वजनिक असन्तुष्टि देखिएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully