निर्वाचन आयोगले सोमबार मध्यराति १२ बजेसम्म बन्दसूची बुझाइसक्नुपर्ने समय सीमा निर्धारण गरेको छ ।
काठमाडौँ — निर्वाचन आयोगका कोठा कोठामा दलका नेता, कार्यकर्ताहरु बन्दसूचीसम्बन्धी कागजात मिलाउन खटिइरहेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता सचिवालयको कार्यकक्षमा बसेर छलफल गरिहरहेका छन् ।
दोस्रो तल्लामा नेपाली कांग्रेसका दुई जना प्रतिनिधि सूची कुरेर बसिरहेका छन् ।
कार्यालयका कोठा–चोटामा विभिन्न दलका नेता, कार्यकर्ता अझै कागजात मिलाउँदै छन् ।
निर्वाचन आयोगका कर्मचारीहरु लबीमा बसेर सूची रुजु गर्ने र कागजपत्र मिलाउने काम गरिरहेका छन् ।
आयोगले सोमबार मध्यराति १२ बजेसम्मका लागि मात्रै बन्दसूची बुझाइसक्नुपर्ने समय सीमा निर्धारण गरेको छ ।
बन्द सूची पेस गर्दा दलले ५० हजार धरौटी राख्नुपर्ने प्रावधान छ । प्रक्रिया आइसकेका सबै राजनीतिक दलको बन्द सूची बुझिने आयोगले जनाएको छ ।
दलहरुले कार्यालय समयभित्र नामावली नल्याइदिंदा बन्द सूचीमाको रूजु गर्ने र त्यसलाई बुझ्ने क्रम अबेर रातिसम्म चलिरहेको छ ।
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दुसूची बुझाएसँगै मुलुक चुनावी माहोलमा होमिएको छ । आयोग परिसरमा बिहानैदेखि राजनीतिक दलका नेता, कार्यकर्ता र समर्थकहरुको चहलपहलले मुलुक चुनावमा होमिएको सन्देश प्रवाहित भएको हो ।
प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्य सदस्य मध्ये १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट छानिन्छन् । राजनीतिक दलले प्राप्त गरेको मतका आधारमा सम्बन्धित दलले सिट पाउने र दलले बन्द सूचीमा समावेश भएका समावेशी क्लस्टरबाट क्रम संख्या अनुसार आयोगले सदस्य निर्वाचित गर्छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने कानुनी व्यवस्था छ ।
