टिभी, रेडियो, अनलाइन र पत्रिकाबाट चुनावी प्रचार–प्रसार गर्न पाइने

आचारसंहिताअनुसार दल तथा उम्मेदवारले टिभी, रेडियो, पत्रपत्रिका र अनलाइन मिडियामा निश्चित समय र आकारभित्रमात्र चुनावी प्रचार गर्न पाउने छन्।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Election campaigning is allowed through TV, radio, online, and newspapers.

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार स्वयं वा सम्बन्धित राजनीतिक दलले तोकिएको सीमा भित्र रहेर आम सञ्चार माध्यमबाट चुनावी प्रचार–प्रसार गर्न पाउनेछन्।

निर्वाचन आचारसंहिताले निश्चित सीमा तोकेर टेलिभिजन, रेडियो तथा पत्रपत्रिकामार्फत उम्मेदवार तथा राजनीतिक दललाई प्रचार–प्रसारको सुविधा दिएको छ। आचारसंहिताअनुसार दल तथा उम्मेदवारले टिभी र रेडियोमा २४ घण्टामा बढीमा चार पटक चुनावी प्रचार–प्रसार गराउन पाउनेछन्।

त्यस्तो प्रचार–प्रसार सामग्री एक पटकमा एक मिनेटसम्म मात्र प्रसारण गर्न पाइनेछ। एक पटक प्रसारण भएपछि अर्को प्रसारण एक घण्टाको अन्तरालपछि मात्र गराउनुपर्ने व्यवस्था छ।

त्यसैगरी, पत्रपत्रिकामार्फत प्रचार गर्दा प्रत्येक दिन बढीमा चार कालम चौडाइ र २५ सेन्टिमिटरसम्म उचाइको आकारमा कुनै एक पत्रिकामा प्रचार सामग्री प्रकाशन गर्न सकिने व्यवस्था आचारसंहिताले दिएको छ।

यस्तै, सूचीकृत भएका अनलाइन सञ्चार माध्यममा पनि राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचार–प्रसार गराउन पाउनेछन्। अनलाइन माध्यममा एक मिनेटसम्मको श्रव्य–दृश्य सामग्री प्रसारण गर्न पाइने व्यवस्था छ।

राजनीतिक दलका लागि भने अनलाइन सञ्चार माध्यममा रोडब्लक, कन्टेन्ट ब्लक, होम पेज, ब्यानर, डिटेल पेज ब्यानर तथा बक्स विज्ञापन (समाचारको बीचमा) को माध्यमबाट निर्वाचन प्रचार–प्रसार गराउने सुविधा आचारसंहिताले दिएको छ।

आचारसंहिताअनुसार विदेशी सञ्चार माध्यमबाट निर्वाचनसम्बन्धी प्रचार सामग्री प्रकाशन वा प्रसारण गर्न तथा गराउन पाइने छैन।

कान्तिपुर

Link copied successfully