कांग्रेसले टुंग्यायो प्रदेशगत क्लस्टर, नाममा टुंगो लाग्न अझै बाँकी

कांग्रेसले प्रादेशिक जनसंख्याको आधारमा समानुपातिक उम्मेदवारको छनोट गरेको छ।

पुस १४, २०८२

कुलचन्द्र न्यौपाने

Congress finalizes provincial cluster, name yet to be finalized

What you should know

काठमाडौँ — समानुपातिकतर्फका १ सय १० सिटलाई कांग्रेसले प्रादेशिक जनसंख्याको अनुपातमा कोटा छुट्याएर वितरण गरेको छ।

जसअनुसार कोशीमा १८, मधेसमा २१, बागमतीमा २२, गण्डकीमा ११, लुम्बिनीमा १७, कर्णालीमा १० र सुदूरपश्चिमबाट १० जनाको नाम पठाएको छ। कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘यो वैज्ञानिक र नयाँ मापदण्डले कांग्रेसले सबै प्रदेश र जिल्लाबाट प्रतिनिधित्वमा अन्याय हुन दिएको छैन।’

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार कोशी प्रदेशबाट आदिवासी जनजातितर्फ ९ जना, खस आर्य ४ जना, थारु १ जना, दलित २ जना, मधेसी १ जना र मुस्लिम १ जना गरी १८ जनाको नाम पठाएको छ।
त्यस्तै, मधेस प्रदेशबाट आदिवासी जनजाति १, खस आर्य १, थारु १, दलित ३, मधेसी १२, मुस्लिम २ सहित २१ जना, बागमती प्रदेशबाट आदिवासी जनजाति १२, खस आर्य ८, दलित १ र मधेसी १ जनाको नाम पठाएको छ। यस प्रदेशमा थारु र मुस्लिमको सिट शून्य छ । त्यस्तै, गण्डकी प्रदेशमा आदिवासी जनजाति ५, खस आर्य ४ र दलित २ गरी ११ जनाको नाम पठाइएको छ। गण्डकीमा थारु, मधेसी र मुस्लिम कोटा शून्य छ।Congress finalizes provincial cluster, name yet to be finalized

लुम्बिनीमा आदिवासी जनजाति ३, खस आर्य ५, थारु ३, दलित २, मधेसी ३ र मुस्लिम १ जना सहित १७ जनाको नाम समावेश छ। कर्णालीमा आदिवासी जनजाति २, खस आर्य ६ र दलित २ सहित १० जनाको नाम समावेश गरिएको छ। कर्णालीमा मधेसी, मुस्लिम र थारुको कोटा समावेश छैन ।सुदूरपश्चिममा खस आर्य ६, थारु २ र दलित २ सहित १० जनाको नाम समावेश छ। सुदूरपश्चिममा आदिवासी जनजाति, मधेसी र मुस्लिमको प्रतिनिधित्व छैन।

कांग्रेसले बुझाएको सूचीमा १ सय १० समानुपातिक सिटमध्ये खस आर्यको सबैभन्दा बढी प्रतिनिधित्व छ। सातै प्रदेशमा खस आर्यबाट ३४ जनाको नाम समावेश छ। दोस्रोमा आदिवासी जनजाति रहेका छन्। आदिवासी जनजाति ३२, थारु ७, दलित १५, मधेसी १७ र मुस्लिम ५ जनाको नाम निर्वाचन आयोगमा बुझाएको विवरणमा उल्लेख छ।

कांग्रेस नेताहरूका अनुसार नाम छनोटमा पार्टीभित्र गुटका नेताहरूबीच तीव्र रस्साकस्सी रहेकाले ढिलाइ भएको हो। बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा उम्मेदवार छनोटका लागि बसेको बैठक अहिले पनि जारी छ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully