मुलुक निर्वाचनमा अगाडि बढिसक्यो : सञ्चारमन्त्री खरेल

'अब कुनै पनि राजनीतिक दल चुनावमा जान्न भन्न सक्ने अवस्था छैन ।' - सञ्चारमन्त्री खरेल

पुस १३, २०८२

दीपक परियार

The country has moved forward in the election: Communications Minister Kharel

What you should know

पोखरा — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निर्वाचनमा जान प्रमुख दलहरू सहमत भइसकेको उल्लेख गर्दै मुलुक अब निर्वाचनतिर अघि बढिसकेको बताएका छन् ।

मन्त्रालयको आयोजनामा आइतबार पोखरामा भएको 'आमसञ्चारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा' सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उनले चुनावमार्फत मुलुक विकास र समृद्धिको गन्तव्यमा अघि बढेको बताए  ।

'राजनीतिक दल, जेन-जी प्रतिनिधिसँग सघन रूपमा वार्ता गर्‍यौं । प्रधानमन्त्री निवासमा राजनीतिक दलका नेतृत्वसँग हिजो भएको छलफलमा पनि निर्वाचनमा जाने सहमति भएको छ,' उनले भने, 'अब कुनै पनि राजनीतिक दल चुनावमा जान्न भन्न सक्ने अवस्था छैन ।' दलहरूले समानुपातिकको लागि बन्द सूची तयार गर्नु, राजनीतिक दल एकत्रित भइरहनु खुसीको कुरा रहेको उनको भनाइ थियो । 

जेन-जी आन्दोलनको जगमा हुन लागेको निर्वाचनपछि बन्ने सरकारले मुलुकलाई सुशासनयुक्त, भ्रष्टाचारमुक्त बनाउँदै समृद्ध नेपाल बनाउने दिशामा अगाडि बढाउनेमा आफू आशावादी रहेको उनले सुनाए । भने, 'मैले सुन्दर भविष्य देखिरहेको छु ।' 

अर्को प्रसंगमा उनले देशकै अर्थतन्त्र नचल्दा मिडिया पनि समस्यामा रहेको बताए । 'हरेक वर्ष घाटाको बजेट ल्याउँछौं, पुँजीगत खर्च गर्न सकिँदैन । उद्योग, व्यापार, व्यवसाय गर्न कोही तयार छैन, बैंकमा पैसा थुप्रिएर बसेको छ,' उनले भने, 'देशमा लगानीको वातावरण छैन । उद्योग, व्यापार फस्टाउन सकेको छैन । यस्तो अवस्थाले मिडिया पनि धराशायी हुँदैछन् ।' 

सञ्चार माध्यम पनि नेपालमा आवश्यकताभन्दा धेरै भएकोले मर्जरको प्रक्रियामा जानुपर्ने उनको धारणाा थियो । सरकारले दिने लोककल्याणकारी विज्ञापन जानुपर्ने ठाउँमा नगएको स्वीकार गर्दै उनले क्रियाशील पत्रकारसम्म पुर्‍याउन मन्त्रालयले पहल गरिरहेको उल्लेख गरे । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully