पूर्वप्रधानमन्त्री माधव नेपाल रौतहट-१ बाट उम्मेदवार सिफारिस 

नेपाली कम्युनिस्ट पार्टी क्षेत्रीय समितिले शुक्रबार रौतहटको चारवटै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ । 

पुस ११, २०८२

शिव पुरी

Former Prime Minister Madhav Nepal recommends candidate from Rautahat-1

What you should know

रौतहट — नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रौतहट–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । नेपाली कम्युनिस्ट पार्टी क्षेत्रीय समितिले शुक्रबार रौतहटको चारवटै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ । 

पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । गृह जिल्ला रौतहट –१ बाट यसअघि २०५६ को आम चुनाव र २०७० सालको दोस्रो संविधानसभा चुनावमा नेपाल निर्वाचित भएका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी तत्कालीन नेकपा माओवादीका उम्मेदवार देवेन्द्र पटेलसँग पराजित भएका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचित भए । २०७९ को निर्वाचनमा फेरि रौतहट १ बाटै विजयी भए । यसपटक नेपालको क्षेत्र नम्बर १ बाटै एकल नाम सिफारिस भएको छ । 

क्षेत्र नम्बर २ बाट कमरेज अख्तर, मोहम्मद अब्दुल्लाह, प्रविन्द्र पटेल, नितेषनन्दन मिश्र र सतिन्द्रप्रसाद यादवको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ३ बाट धिरज पटेल, रामभरोसी यादव, विन्देश्वर यादव र पुनम यादवको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ४ बाट रामकुमार भट्टराई, युवराज भट्टराई(समिर) देवेन्द्र पटेल र जेन–जीबाट आशिष लामाको नाम सिफरिस भएको छ । रामकुमार र देवेन्द्र पटेल संविधानसभा सदस्य हुन् । युवराज भट्टराई हाल मधेश प्रदेश सभा सदस्य छन् । समानुपातिकतर्फ कल्याणी खड्का देवकी नेपाल कमल राय यादव, आशिष वाईबालगायत १२ जनाको नाम सिफारिस भएको नेपाल कम्युनिस्ट पार्टीका नेता रामकुमार भट्टराईले जानकारी दिए । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully