केन्द्रीय कार्यसमितिले निर्णय नगरे विशेष महाधिवेशन भेला डाक्ने तयारीमा कांग्रेस संस्थापन इतरपक्ष 

निर्वाचनअगाडि पार्टी नेतृत्व र नीति परिवर्तन नगरे महामन्त्री गगन थापा आफू निर्वाचनमा प्रतिस्पर्धा नगर्ने मुडमा छन् ।

पुस ११, २०८२

कान्तिपुर संवाददाता

Congress establishment and other parties preparing to call a special general convention if the central working committee does not make a decision

What you should know

काठमाडौँ — केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिमा बहुमत रहेको संस्थापन पक्षले २१ फागुनको निर्वाचनअगाडि कुनै पनि महाधिवेशन नगर्ने निष्कर्ष निकालेपछि इतर पक्ष विशेष महाधिवेशन भेला डाक्ने गृहकार्यमा जुटेको छ ।

विशेष महाधिवेशन पक्षधर नेताहरुले त्यसका लागि शनिबार बैठक बोलाएर भेला तय गर्नेबारे छलफल भइरहेको नेता सुवास पोखरेलले बताए । उनीहरुले आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अरु सबै एजेन्डा स्थगित गरेर असोज २९ गते केन्द्रीय कार्यलयमा दर्ता भएको विशेष महाधिवेशनको निवेदनमाथि छलफल गर्न ध्यानाकर्षण पत्र दिने तयारी गरेका छन् । 

केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशन नगर्ने निचोड निकालेपछि विशेष महाधिवेशनको विकल्प नभएको भन्दै पोखरेलले त्यस एजेन्डामा छलफल गरेर केन्द्रीय कार्यसमिति आफैले विशेष महाधिवेशन बोलाओस् भनेर ध्यानाकर्षण गर्न लागिएको बताए । 

‘भेलाले पार्टी फुट्छ भन्नुहुन्छ भने केन्द्रीय कार्यसमिति आफैले विशेष महाधिवेशन बोलाओस्, हामी त्यस महाधिवेशनमा सहभागी हुन्छौं भनेका छौ, तर विधानले विशेष महाधिवेशन बोलाउनैपर्ने व्यवस्थालाई समेत बहुमतको नाममा उल्लघंन गर्ने हो भने बहुमत प्रतिनिधिहरुले विशेष महाधिवेशन बोलाउँछन्,' उनले भने, 'त्यसमा सहभागी हुन सभापति, कार्यवाहक सभापति, महामन्त्रीसहित सबै पदाधिकारी र सदस्यहरुलाई आग्रह गर्छौं ।’

उनले यस्तो निर्णय शनिबार बस्ने विशेष महाधिवेशन पक्षधरको बेठकले तय गर्ने बताए । कांग्रेस विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरबाट विशेष महाधिवेशन माग भएमा तीन महिनाभित्र बोलाउनैपर्ने व्यवस्था गरेको छ । ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरेको निवेदन असोज २९ मै केन्द्रीय कार्यालयमा दर्ता भएको छ । 

यसअघि सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा पनि निर्वाचन अगाडि महाधिशन गर्ने कि नगर्ने भन्ने चर्को विवादका बीच नियमित महाधिवेशन नै गर्ने भनेर कार्यतालिका ल्याइएको थियो । पुस १६ बाट वडा अधिवेशन सुरु भई पुस २६-२९ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने तालिका थियो । तर, क्रियाशील सदस्यताको वितरण, नवीकरण र विवाद समाधान गर्ने काम नै अहिलेसम्म सम्पन्न नहुने भएपछि उक्त कार्यतालिकाभित्र महाधिवशेन नहुने करिब निश्चित छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तलका सात तहमध्ये वडा र क्षेत्रको मात्रै अधिवेशन गरेर सिधै महाधिवेशनको प्रस्ताव गरेका थिए । अरु चार तहको अधिवेशन निर्वाचन पछाडि सार्दा केन्द्रीय महाधिवेशन गर्न सकिने उनीहरुको तर्क छ । तर, त्यसमा संस्थापन पक्ष तयार छैन । 

महामन्त्री थापाले निर्वाचन अगाडि पार्टीको नेतृत्व र नीति परिवर्तन नगरी आफू निर्वाचनमा प्रतिस्पर्धा नगर्ने जानकारी समेत बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई गराएका छन् । अर्का महामन्त्री शर्माले त अबको निर्वाचनमा आफू प्रतिस्पर्धा नगर्ने निर्णय नै लिइसकेका छन् । विशेष महाधिवेशन पक्षधर नेताहरुले वर्तमान नेतृत्वलाई कायम राखेर निर्वाचनमा जान नसकिने निष्कर्ष निकालेका छन् ।

नेता सुवास पोखरेलले महामन्त्रीले मात्रै नभएर वर्तमान नेतृत्वको हस्ताक्षरबाट धेरै नेताहरुले टिकट नलिने चेतावनी दिएका छन् । ‘पार्टी सभापतिलाई शक्तिमा बस्न मन लागेको हो, सभापतिमा अझै एक वर्ष निरन्तर हुन खोज्नुभएको हो भने विशेष महाधिवेशनमा उम्मेदवार बन्न पाउनुहुन्छ,' उनले भने, 'आएर प्रतिस्पर्धा गर्नुहोस्, एमाले अध्यक्ष केपी ओलीजस्तै महािधवेशनबाट अनुमोदित हुनुहोस् । तर विशेष महाधिवेशन गर्नुपर्ने विधानको व्यवस्था उल्लंघन गर्न पाइँदैन भन्ने हाम्रो निर्णय हो ।’

कान्तिपुर

Link copied successfully