एकताको डेढ महिनामा पनि बनेन नेकपाको केन्द्रीय समिति

प्रदेश, जिल्ला र स्थानीय समितिका साथै भ्रातृ संगठनहरू पनि समायोजन भएनन् ।

पुस १०, २०८२

गंगा बीसी

The Central Committee of the NCP has not been formed even after a month and a half of unity.

What you should know

काठमाडौँ — माओवादी, एकीकृत समाजवादी र अन्य साना ६ दलबीच एकता भएर नेकपा बनेको डेढ महिना पुगे पनि अझै केन्द्रीय समिति बन्न सकेको छैन । यी पार्टीका प्रदेश, जिल्ला र स्थानीय समितिका साथै भ्रातृ संगठनहरू पनि हालसम्म समायोजन हुन सकेको छैन ।

केन्द्रीय, प्रदेश र स्थानीय समितिहरू समायोजन नभएकाले संगठनहरू अन्योलमा परेका छन् भने चुनावकेन्द्रित कार्यक्रम पनि प्रभावित भएका छन् ।

प्रमुख दुईसहित आठ घटकले १९ कात्तिकमा काठमाडौंमा एकता सम्मेलन गरी नेकपा घोषणा गरेका थिए । एकता प्रक्रियामा सहभागी भएका पार्टीका साविकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिका आधारमा केन्द्रीय समिति गठन गरिने उल्लेख थियो । एकता सहमतिपत्रमा केन्द्रीय समितिभित्र राजनीतिक समिति, सचिवालय, कार्य संयोजन समिति हुने उल्लेख छ ।

केन्द्रीय समितिसहित प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सहसंयोजकको व्यवस्था हुने, एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू, आयोजना, संगठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिने सहमतिमा उल्लेख थियो । ‘सबै तहको पार्टी पंक्तिमा एकता समायोजन सबै तहका पार्टी समितिहरू र जनसंगठनहरूमा इन्चार्ज तथा सहइन्चार्ज र संयोजक तथा सहसंयोजकहरू सम्भव भएसम्म एकतामा सहभागी घटकहरूबाट रहने व्यवस्था गरिनेछ’ सहमतिमा भनिएको छ । तर अहिलेसम्म समायोजन प्रक्रिया अघि बढ्न सकेको छैन ।

नेकपाका एक नेताका अनुसार २ हजार ४ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी छ । माओवादी र एकीकृत समाजवादीका नेताहरू समेट्न सहज भए पनि साना घटकका नेताहरू राखेर कमिटी बनाउन समस्या भएको नेताहरूको भनाइ छ । ‘एकतामा आएका साना दलका नेताहरूले आफ्नो पक्षमा बढी नेता राख्न खोजेकाले केन्द्रीय समिति समायोजनमा ढिलाइ भएको छ’ ती नेताले भने ।

नेकपाको विधानमा केन्द्रीय कार्यसमिति ६०१ बनाउने उल्लेख छ । त्यो समितिको कार्यकारी भूमिकामा रहनेछ । त्यसपछि केन्द्रीय पदाधिकारी बनाइनेछ । केन्द्रीय समितिको समायोजनपछि केन्द्रीय पदाधिकारी बनाउने तयारी भएको छ । नेकपाका प्रवक्ता अग्नि सापकोटाले शीर्ष नेताहरू एकता सभामा व्यस्त भएकाले छिट्टै केन्द्रीय समिति समायोजन हुने बताए । ‘समायोजनका लागि छलफल भइरहेको छ । छिट्टै टुंगिन्छ होला,’ उनले भने, ‘महाधिवेशन गर्ने गरी केन्द्रीय समिति दुई हजार बढी हुने भए पनि कार्यसमिति अलि सानो हुनेछ ।’

निर्वाचन आयोगले नेकपाको नाम दर्ता र चुनाव चिह्न तारा दिइसकेको छ । एकीकरणपछि माओवादी र एकीकृत समाजवादी पार्टी खारेजको पत्र संसद् सचिवालयमा नेकपाले बुझाइसकेको छ । तर, निर्वाचन आयोगले खारेज गरिसकेको दल माओवादी र एकीकृत समाजवादीका नामबाट राष्ट्रिय सभा र प्रदेशसभाहरूमा सांसदहरूले प्रतिनिधित्व गरिरहेका छन् ।

‘निर्वाचन आयोगको पत्र संसद् सचिवालयमा पुगिसकेको हुनुपर्छ,’ नेकपाका नेता बेदुराम भुसालले भने, ‘नेकपा बनिसकेकाले राष्ट्रिय र प्रदेशसभामा पनि यही नामबाट सांसदको प्रतिनिधित्व हुने व्यवस्था मिलाउँदै छौं ।’ नेकपाले राष्ट्रिय सभाको नेता चयन गर्न बाँकी छ । ‘हाल राष्ट्रिय सभाका समितिहरूको बैठकमा पुरानै दलका नामबाट सहभागिता भइरहेको छ । राष्ट्रिय सभामा संसदीय दलको नेता चयन गरेपछि एउटै दलको तर्फबाट प्रतिनिधित्व हुनेछ’ उनले भने ।

एकतापछि औपचारिक रूपमा केन्द्रीय पदाधिकारीसमेत चयन हुन सकेका छैनन् । नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाललाई निर्णयको सर्वाधिकार दिइएको छ । पार्टीका केन्द्रीय निर्णय दुई नेताको समझदारीमा हुने गरेका छन् । आवश्यक परे मात्र दुई नेताले निकट नेताहरूलाई महत्त्वपूर्ण निर्णयमा सहभागी गराएका छन् । पार्टीका अरू वरिष्ठ नेताहरूको वरीयता पनि औपचारिक रूपमा टुंगिएको छैन । नेकपाको तेस्रो वरीयतामा झलनाथ खनाल, चौथोमा वामदेव गौतम, पाँचौंमा नारायणकाजी श्रेष्ठ र छैटौं वरीयता भीम रावलको हुने समझदारी छ । त्यस्तै एकतामा आएका अन्य घटकहरूको वरिष्ठताका आधारमा वरीयता तय गरिने भएको छ ।

गंगा

Link copied successfully