कास्की-३ मा नेकपाबाट पुष्पकमल दाहालको नाम सर्वसम्मत सिफारिस

उम्मेदवार सिफारिसका लागि बिहीबार भएको बैठकबाट दाहालको नाम एक नम्बरमा सिफारिस भएको हो ।

पुस १०, २०८२

दीपक परियार

Pushpa Kamal Dahal's name unanimously recommended by NCP in Kaski-3

What you should know

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी कास्की क्षेत्र नम्बर ३ को बैठकले २१ फागुनको निर्वाचनका लागि प्रत्यक्षतर्फ पार्टी संयोजक पुष्पकमल दाहालको नाम सर्वसम्मत सिफारिस गरेको छ । उम्मेदवार सिफारिसका लागि बिहीबार भएको बैठकबाट दाहालको नाम एक नम्बरमा सिफारिस भएको हो ।

क्षेत्र नम्बर ३ दाहालको जन्मस्थल हो । उनी अन्नपूर्ण गाउँपालिकाको लेवाडेमा जन्मिएर चितवन बसाइँसराइ गरेर गएका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार गएको चुनावमा पनि दाहाललाई क्षेत्र नम्बर ३ बाट चुनाव लड्न आग्रह गरिएको थियो ।

दाहाल गोरखाबाट चुनाव लडेपपछि यसपल्ट पुनः कास्कीबाट चुनाव लड्न यहाँका नेताले आग्रह गरेका छन् । ‘बैठकमा धारणाा राख्ने सबैजसोले संयोजक कमरेडलाई कास्की ३ मा जसरी पनि ल्याउनुपर्ने धारणा राख्नुभयो,’ ती नेताले भने, ‘आफ्नो जन्मस्थल पनि भएकोले यहाँबाट चुनाव लड्दा अरु पार्टीले पनि सहयोग गर्ने देखिन्छ ।’

बैठकबाट एक जेन–जी, महिलासहित ५ जनाको नाम जिल्ला समितिमा सिफारिसि गर्नुपर्ने भए पनि १५ जनाले आकांक्षा देखाएका छन् । आकांक्षीमा दाहालकी बुहारी सिर्जना त्रिपाठीले समेत आकांक्षा देखाएकी छन् । प्रकाश पत्नी त्रिपाठीको क्षेत्र नम्बर ३ कै हेमजामा माइती भएकोले उनी कास्कीको पार्टी राजनीतिमा सक्रिय छिन् ।

उनीबाहेक त्यस क्षेत्रबाट संविधानसभामा निर्वाचित पूर्व सांसद दुर्गा विक, पूर्व प्रदेश सांसद रामजी बराल, बलराम सुवेदी, भानु अधिकारी, भोजराज पौडेललगायतले आकांक्षा देखाएका छन् । दाहालबाहेकका नाममा सहमति नजुटेपछि सबैको नाम जिल्लामा सिफारिस गरी पठाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully