कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा

‘एक क्षेत्रमा हारे अर्को क्षेत्रमा वा एउटा तहमा हारे अर्कोमा भए पनि उम्मेदवार बन्नैपर्ने । बाँचुन्जेल क्षेत्र ‘कब्जा’ को सोच राख्ने सासले भ्याएसम्म मन्त्री रहिरहनु पर्ने । हाम्रो राजनीतिको यो प्रवृत्ति भत्काउन जरुरी छ ।’ - शर्मा

पुस १०, २०८२

कान्तिपुर संवाददाता

Congress General Secretary Sharma announces not to contest elections

What you should know

काठमाडौँ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा चुनाव नलड्ने घोषणा गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादनको बिहीबारको बैठकमा बोल्दै शर्माले लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रका नेता तथा कार्यकर्तालाई गराएको जानकारी दिए । 

‘आफ्नो  ‘पावर’ ले भ्याएसम्म उम्मेदवार बन्ने । जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्ने  । एक क्षेत्रमा हारे अर्को क्षेत्रमा वा एउटा तहमा हारे अर्कोमा भए पनि उम्मेदवार बन्नैपर्ने । बाँचुन्जेल क्षेत्र ‘कब्जा’ को सोच राख्ने सासले भ्याएसम्म मन्त्री रहिरहनु पर्ने । हाम्रो राजनीतिको यो प्रवृत्ति भत्काउन जरुरी छ,’ बैठकमा उनको भनाइ थियो,‘अत: लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँदछु ।’ 

झापा–१ बाट सर्वसम्मत रूपमा शर्माको एकल नाम सिफारिस भएको छ । त्यसका लागि उनले धन्यवाद समेत दिएका छन् । ‘गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिए, यो पटक देशव्यापी पार्टीका उम्मेदवारहरूको साथमा पुग्नेछु,’ उनले भने । यसअघि सभापति शेरबहादुर देउवासँगको भेटमा निर्वाचन अगाडि महाधिवेशन सम्पन्न हुन नसकेमा आफू चुनाव लड्ने बताएका थिए । 

शर्माले वडा र क्षेत्रको अधिवेशन गरेर पुस २६ मै केन्द्रीय महाधिवेशन गर्नुपर्ने अर्का महामन्त्री गगन थापाको प्रस्तावलाई समर्थन गरेका छन् । उनले तीन तहको अधिवेशन गर्ने गरी यसअघि ल्याइएको कार्यतालिका संशोधन गरिनु पर्ने बताएका हुन् । 

शर्माले चुनावी वातावरण नभएकाले सर्वपक्षीय छलफल गरेर वैशाखमा चुनाव सार्न पार्टीले सरकारलाई सुझाव दिनुपर्ने बताएका छन् । २१ फागुनमा निर्वाचन सार्दा उठ्न सक्नै सवैधानिक प्रश्नलाई सात प्रदेशको ७ निर्वाचन क्षेत्रमा निर्वाचन गराएर अरु वैशाखमा गर्न सकिने विकल्प सुझाएका छन् ।

कान्तिपुर

Link copied successfully