‘नयाँ र वैकल्पिकहरू जति पनि छन्, एक भएर अघि बढ्नुस्, मेरो समर्थन रहन्छ भनेँ,’ भट्टराईले भने ।
काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । बिहीबार ज्वागलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको भेटपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
आफू नयाँ र वैकल्पिक शक्ति एक भएर अघि बढ्न सुझाव दिन आएको पनि उनको भनाइ थियो । ‘नयाँ र वैकल्पिकहरू जति पनि छन्, एक भएर अघि बढ्नुस्, मेरो समर्थन रहन्छ भनेँ,’ भट्टराईले भने ।
बिहीबार बिहानैदेखि मेयर बालेनलाई भेट्न विभिन्न राजनतिक दलका नेताहरू ज्वागल पुगेका छन् । रास्वपा सभापति रवि लामिछानेदेखि, शिशिर खनाललगायतका नेताहरूले बालेनसँग छलफल गरेका छन् ।
मेयर बालेनसँग अन्तरिम सरकारका मन्त्री एवं उल्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ, कांग्रेस नेता डा. सुनिल शर्मा, नेता अमरेशकुमार सिंहलगायतका नेताहरूले पनि भेटेका छन् । नयाँ राजनीतिक ध्रुवीकरणका लागि मेयरले बालेनले भेटघाटलाई तीव्र पारिरहेका छन् ।
