५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउनुपर्छ : महासचिव चन्द

चन्दले वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने ठोकुवासमेत गरे ।

पुस १०, २०८२

कान्तिपुर संवाददाता

500 and 1000 rupee notes should be banned: General Secretary Chand

What you should know

काठमाडौँ — नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले कालोधनलाई वैध बनाउन नोटबन्दी गर्नुपर्ने बताएका छन् ।बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा उनले कालो धनलाई जनताको बीचमा स्वीकृत हुनेगरी ल्याउन नोटबन्दी गर्नुपर्ने बताएका हुन् । 

नेपालबाट ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउनुपर्ने चन्दको भनाइ छ । त्यसको सट्टामा नयाँ-नयाँ नोट दुई सय, ४ सय र दुई हजार रुपैयाँका नोट प्रचलनमा ल्याउन सकिने उनको भनाइ छ । भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय छानबिन आयोग बनाउनपर्ने पनि उनले बताए ।

चन्दले वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने ठोकुवासमेत गरे । प्रहरी, कर्मचारी सबैको मनोबल गिरेको अवस्थामा निर्वाचन गराउनका लागि सर्वपक्षीय सरकार गठन गर्नु आजको आवश्यकता भएको उनको भनाइ छ । 

यस्तो छ चन्दको भनाइ

हाम्रा मुख्य चारवटा प्रस्ताव छन्। सर्वपक्षीय सरकार बन्नुपर्छ। भ्रष्टाचारसम्बन्धी उच्चस्तरीय छानबिन आयोग बन्नुपर्छ। उच्चस्तरीय न्यायालय बन्नुपर्छ। त्यो न्यायालयबाट सर्वोच्चमा पुनरावेदन गर्ने स्थिति बन्नु हुँदैन। अन्तिम फैसला नै त्यही हुनुपर्छ।

भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरेर उनीहरूलाई हदसम्मको जन्मकैदसम्मको फैसला हुनुपर्छ। त्यो चाहिँ दोस्रो कुरा हो, तर एउटा निष्पक्ष ढङ्गले छानबिन गर्ने आयोग बन्नुपर्छ।

त्यसपछि नोटबन्दीको कुरा पनि छ। कालो धनलाई यदि सेतो बनाउने हो, जनताको बीचमा स्वीकृत हुने गरी ल्याउने हो भने पाँच सय र एक हजारको नोटमा चाहिँ नोटबन्दी गर्नुपर्छ, खारेज गर्नुपर्छ र नयाँ नोट दुई सय, चार सय रुपैयाँका नोटहरू पनि प्रचलनमा ल्याउन सक्नुपर्छ भन्ने हाम्रो कुरा छ। दुई हजारको पनि होला।

कान्तिपुर

Link copied successfully