हर्क साम्पाङले उपाध्यक्ष परियारलाई किन गरे निलम्बन ?

पार्टी आचारसंहिता उल्लंघन र जिल्ला सहसंयोजकमाथि अपमानजनक शब्द प्रयोगको आरोपमा डा. मित्र परियारलाई अध्यक्ष साम्पाङले पार्टी उपाध्यक्ष पदबाट निलम्बन गरेका छन्।

पुस ९, २०८२

पर्वत पोर्तेल

Why did Hark Sampang suspend Vice President Pariyar?

विराटनगर — हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी भर्खरै बामे सर्दैछ । तर, यो ‘शिशु पार्टी’मा विवादका शृंखलाहरू क्रमशः दोहोरिरहेका छन् ।

बम काण्डमा नाम जोडिएका उपाध्यक्ष देवराज लामालाई बुधबार मात्रै निलम्बन गरेका साम्पाङले सोमबार साँझ अर्का उपाध्यक्ष डा. मित्र परियारलाई पनि निलम्बन गरिएको कुरा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरे । परियार निलम्बनको घटना भने यति बेला सामाजिक सञ्जालमा निकै ‘भाइरल’ भइरहेको छ ।

साम्पाङले विज्ञप्तिमा उल्लेख गरेअनुसार, परियारलाई निलम्बन गर्नुपर्ने दुई मुख्य कारण छन् ।

पहिलो, पुस ५ गते बुटवलमा आयोजित आमसभामा आयोजक टिममाथि आचारसंहिता विपरीत अभद्र शैलीमा सार्वजनिक अभिव्यक्ति दिनु । दोस्रो, जिल्ला सहसंयोजक केशव केशव न्यौपानेलाई अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गर्नु ।

दोस्रो कारण त सार्वजनिक छैन । तर, पहिलो कारणअनुसार चाहिँ के परियारले साँच्चै पार्टी आचारसंहिता विपरीत अभिव्यक्ति दिएका थिए वा उनले पार्टीलाई प्रश्न गरेका थिए ? बुटवलको आमसभामा बोल्दा उनले पार्टीको निर्देशन विपरीत बोलेको र आयोजक टिमलाई अपमान गरेको दाबी गरिएको छ ।

दलित अभियन्ता परियारलाई मंसिरको अन्तिम साता काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटी बैठकले उपाध्यक्षमा मनोनीत गरेको थियो ।

बुटवल आमसभामा भएको के थियो ?

पुस ५ को आमसभाका लागि दुई दिनअघि नै आफू बुटवल पुगेको परियारले जनाएका छन् । सभा सफल पार्न खटेको पनि दाबी गरेका छन् । तर, आफूलाई सभामा बोल्न नदिएको भन्दै उनले आयोजक टिममाथि आपत्ति जनाए । उनले मञ्चबाट भनेका छन्, ‘म केन्द्रीय उपाध्यक्ष हुँ । मैले पनि बोल्न पाउनुपर्छ । ध्यान अन्ततिर मोडिनु हुँदैन । यति भन्नु पाप हो त ? अपराध हो त ?’

उनको यस्तो प्रतिक्रिया देखेपछि अध्यक्ष साम्पाङ मञ्च छोडेर तल ओर्लिए र समर्थकसँग फोटो खिच्न थाले । परियारले उनलाई रोक्न खोज्दै कडा स्वरमा भने, ‘स्टप इट नाउ, क्यान यु स्टप इट फर नाउ ?’ पार्टीले परियारको अभिव्यक्तिलाई आयोजक टिमको निर्णय, समय तालिका र व्यवस्थापनलाई चुनौती दिएको रूपमा लियो । त्यही सामान्य कारण नै निलम्बनको निहुँ बन्यो ।

‘श्रम संस्कृति पार्टीका सबै सदस्य श्रमदाता हुन् । पार्टीको मूल दर्शनअनुसार पद वा सत्ताको आडमा अरूलाई उपेक्षा वा अपमान गर्नु हुँदैन,’ विज्ञप्तिमा उल्लेख छ । ‘परियारको व्यवहारले सदस्यता र नेतृत्वको समानता प्रतिकूल रहेको ठहर गर्दै पार्टीले निलम्बन गरेको हो ।’

निलम्बनपछि परियारले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरे । उनले भने, ‘जानीजानी हो वा अनजानमा हो, आयोजकले मलाई अपमान गर्‍यो । सेड्युल मिलाउन जानेन ।’

पार्टी अध्यक्ष साम्पाङले गत मंसिर १६ मा सार्वजनिक रूपमा स्पष्ट पारेका थिए कि श्रम संस्कृति पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ हो । यो दर्शनअनुसार श्रम, श्रमदान र समानताको आधारमा मात्र सामाजिक, आर्थिक र राजनीतिक विकास सम्भव छ । श्रमबाट मात्रै अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, विनाश र अशान्तिको अन्त्य सम्भव छ ।

यो दृष्टिकोणअनुसार पार्टीका नेता वा सदस्यले पदको आडमा अरूलाई अपमान गर्ने वा अनुशासन विपरीत व्यवहार गर्ने छुट पाउँदैनन् । साम्पाङले भनेका छन्, ‘पार्टीमा कुनै पनि नेता वा कार्यकर्ताले केन्द्रीय समिति मान्छे हुँ भनेर दम्भ देखाउँदै अन्य सदस्यलाई अपमान गर्न मिल्दैन । पार्टीभित्र समानता, अनुशासन र संगठनात्मक अखण्डता कायम राख्न अत्यावश्यक छ ।’

यस विषयमा बुझ्न खोज्दा पार्टी अध्यक्ष साम्पाङको फोन उठेन । पार्टी प्रवक्ता सत्य घले गुरुङले बुटवलको सभामा पार्टी आचारसंहिता विपरीत बोलेको र जिल्ला सह-संयोजक केशव न्यौपानेलाई दुर्व्यवहार गरेका कारण अनुशासन कारबाही गरिएको स्पष्ट पारे । उनले भने, ‘निलम्बन मात्रै गरिएको हो, उहाँले माफी मागेमा कारबाही फुकुवा गरिने छ ।’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully