प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुन्छ : गृहमन्त्री अर्याल

गृहमन्त्री अर्यालले सरकारले निर्वाचनको तयारी अघि बढाएको भन्दै निर्वाचनबारे धेरै आशंका नगर्न आग्रह गरे। 

पुस ९, २०८२

ज्योति कटुवाल

Elections to the House of Representatives will be held on Falgun 21: Home Minister Aryal

सुर्खेत — गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुने बताएका छन्। उनले सरकारले निर्वाचनको तयारी अघि बढाएको भन्दै निर्वाचनबारे धेरै आशंका नगर्न आग्रह गरे। 

गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा संयुक्त रूपमा आयोजित कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा गृहमन्त्री अर्यालले देशमा फेर द्वन्द्व दोहोरिन नदिनका लागि समेत तोकिएकै समयमा निर्वाचन हुन आवश्यक रहेको बताए। 

‘अहिलेको सरकार मात्र होइन, मूलधारका राजनीतिक दलहरू पनि चुनाव गराउने तयारीमा जुट्नुपर्‍यो,’ उनले भने, ‘हाम्रो मूल रणनीति कुनै पनि अवस्थामा द्वन्द्व नदोहोरिन दिनु हो ।’ उनका अनुसार मुलुकको संकटपूर्ण अवस्थालाई सामान्यीकरण गर्दै शान्तिपूर्ण राजनीतिक वातावरणमा स्वच्छ र निर्भय प्रतिस्पर्धाका लागि निर्वाचनको तयारी गरिँदैछ ।

‘अहिले सरकारले जेनजी युवाहरूलाई पनि मूलधारमा ल्याउने प्रयास गरेको छ,’ उनले भने, ‘राजनीतिक दलहरूले पनि जेनजीलाई समावेश गर्नुपर्‍यो ।’ संसद् विघटन भएको छ महिनाभित्र चुनाव हुनुपर्ने जनादेश भएकाले सुरक्षा चुनौतीलाई सुदृढ गर्दै फागुन २१ गते चुनाव सम्पन्न गरिने उनले बताए । मौसमी बाधा–व्यवधान भए पनि फागुन २१ गतेकै मिति मानेर चुनाव सम्पन्न गरिने उनको भनाइ छ ।

जेनजीका जनआन्दोलनका सहिद पहिचान गरी उनीहरूको नामावली राजपत्रमा प्रकाशन गरिएको र परिवारलाई राहत प्रदान गर्न जोड दिइएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले समृद्धि, विकास र सुशासन कायम गर्न जेन-जी पुस्तालाई राजनीतिक मूलधारमा ल्याउनुपर्ने धारणा व्यक्त गरे ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully