कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

क्रियाशील सदस्यता वितरणमा भइरहेको ढिलाइले महाधिवेशन तालिका प्रभावित हुने देखिएको छ ।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

Congress Central Working Committee meeting underway

काठमाडौँ — कांग्रेस महाधिवेशनको कार्यतालिका र उम्मेदवार छनोटको विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कांग्रेसले आगामी पुस २६–२९ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी सातै तहका अधिवेशनको कार्यतालिका ल्याए पनि क्रियाशील सदस्यता वितरणमा भइरहेको ढिलाइले महाधिवेशन तालिका प्रभावित हुने देखिएको छ ।

२१ फागुनको निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले यसरी निर्णय भएको कार्यतालिका निर्वाचनपछाडि सार्नुपर्ने विचार संस्थापन पक्षले राख्दै आएको छ । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गरेर जानुपर्ने अडान राखिरहेका छन् । उनीहरूले पार्टीको नीति र नेतृत्व परिवर्तन नगरी निर्वाचनमा जाँदा ठूलो क्षति बेहोर्नुपर्ने तर्क गर्दै आएका छन् ।

तर संस्थापन पक्षका नेताहरूले पुस १३ र १४ गते समानुपातिक सूची बुझाउनुपर्ने र त्यसका लागि उम्मेदवार चयनको प्रक्रिया अघि बढाउन संसदीय बोर्ड गठन गरेर काम सुरु गर्नुपर्ने माग गरेका छन् ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले निर्वाचन हुने अवस्थामा पार्टीको महाधिवेशन वैशाखमा सार्नुपर्ने बताए । निर्वाचन नहुने स्थिति भए फागुनमा गर्न सकिने उनको तर्क छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यसबारे छलफल हुने उनले बताए । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

कान्तिपुर संवाददाता

Link copied successfully