प्रधानमन्त्री कार्की र तीन दलका शीर्ष नेताबीच पहिलो पटक कुराकानी

राष्ट्रपति पौडेलले शीतल निवासमा बोलाएको छलफलमा प्रधानमन्त्री कार्की, कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र नेकपा संयोजक दाहालसँग कुराकानी भएको हो

पुस ८, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Karki and top leaders of three parties hold first-ever conversation

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की र तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । जेन-जी आन्दोलनपछि पहिलो पटक प्रधानमन्त्री कार्कीले कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरूसँग प्रत्यक्ष कुराकानी गरेकी हुन् । 

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा कुराकानी भएको हो । राष्ट्रपति पौडेलले नै छलफल डाकेका हुन् । छलफलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका तीन दलका शीर्ष नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल सहभागी छन् । 

शीतल निवास स्रोतका अनुसार उक्त छलफल निर्वाचनको वातावरण बनाउने दिशामा नै केन्द्रित हुने भएको छ । राष्ट्रपति पौडेलले यसअघि अन्तरिम सरकार बन्ने र बनाउने क्रममा प्रधानमन्त्री सुशीला कार्की र तत्कालीन माओवादी अध्यक्ष दाहालसँग भेटवार्ता गरेका थिए ।

तर देउवा र ओलीसँग भने भेटवार्ता भएको थिएन । तत्कालीन सरकारका प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई स्थानहद तोकेर सरकारले निर्वाचनको वातावरण बनाउन नसकिरहेको भन्दै कांग्रेस र एमालेबाट सरकारको आलोचना भइरहेको छ ।

एमाले अध्यक्ष ओलीले अन्तरिम सरकार, प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै प्रतिनिधिसभा पुन:स्थापनाको मुद्दालाई प्राथमिकतामा राख्दै आएका छन् ।

प्रतिनिधिसभा पुन:स्थापनाका लागि कांग्रेस र एमालेले छुट्टाछुट्टै रिट समेत दायर गरेका छन् । दुई दलबाट बहुमत सांसदहरूको हस्ताक्षरसहित मंगलबार नै पूरक निवेदन दिने तयारी कांग्रेसले गरिरहेको पृष्ठभूमिमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीले शीतल निवासमा देउवा, ओली र दाहालसँग निर्वाचनको वातवरण बनाउने विषयमा छलफल गर्न लागेका हुन ।

कान्तिपुर संवाददाता

Link copied successfully