राष्ट्रपति र प्रधानमन्त्रीसहितको भेटमा ओलीले उठाए शान्ति सुरक्षामाथि 'गम्भीर प्रश्न'

ओलीले आफू र पूर्वगृहमन्त्री रमेश लेखकलाई स्थानहद तोक्ने, राजनीतिक दललाई निषेध गर्ने, शान्ति सुरक्षाको वातावरण नबनाई चुनाव हुन नसक्ने बताएको उनको सचिवालयले जनाएको छ 

पुस ८, २०८२

कान्तिपुर संवाददाता

Oli raises 'serious questions' on peace and security in meeting with President and Prime Minister

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले डाकेको छलफलमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति सुरक्षामाथि प्रश्न उठाएका छन् । मंगलबार शीतल निवासमा भएको छलफलमा अध्यक्ष ओलीले प्रमुख राजनीतिक दलका नेताहरूको सुरक्षाको विषय गम्भीर भएको बताएका हुन् । 

ओलीले आफू र पूर्वगृहमन्त्री रमेश लेखकलाई स्थानहद तोक्ने, राजनीतिक दललाई निषेध गर्ने, शान्ति सुरक्षाको वातावरण नबनाई चुनाव हुन नसक्ने बताएको उनको सचिवालयले जनाएको छ । दलहरू निर्भयपूर्वक चुनावमा जाने, उम्मेदवारले प्रचारप्रसार गर्ने, मतदाताले बिनाडर भोट हाल्ने वातावरण सरकारले ग्यारेन्टी गर्नुपर्ने ओलीको अडान थियो । 

कांग्रेस सभापति देउवाले पनि शान्ति सुरक्षाको विषयलाई प्रमुखताका साथ उठाएका थिए । नेकपा संयोजक दाहालले पनि सरकारले वातावरण बनाए दलहरू चुनावमा जान तयार रहेको बताएको उनको सचिवालयले जनाएको छ । 

भेटमा प्रधानमन्त्री कार्कीले विषम् परिस्थितिमा तोकिएकै समयमा निर्वाचन गराउन सबै दलले सहयोग गर्नुपर्ने बताएको प्रेस सल्लाहकार पोखरेलले बताए ।

मंगलबार राष्ट्रपति पौडेलले बोलाएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की र पूर्वप्रधानमन्त्रीसमेत रहेका तीन दलका शीर्ष नेताहरू सहभागी थिए । छलफलमा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहाल पनि सहभागी थिए । छलफल झन्डै साढे २ घण्टा चलेको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully