कांग्रेसले संसदीय बोर्ड गठन र महाधिवेशनको तालिकामा छलफल गर्न बोलायो बैठक

कांग्रेसका तल्ला निकायबाट प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाका लागि उम्मेदवार सिफारिस भइसकेका छन्। केन्द्रीय संसदीय बोर्डले सिफारिस भएकाहरूमध्येबाट उम्मेदवार चयन गर्नेछ।

पुस ८, २०८२

कान्तिपुर संवाददाता

Congress calls meeting to discuss formation of parliamentary board and general convention schedule

काठमाडौँ — कांग्रेसले पार्टीको १५ औं महाधिवेशनको तालिका र उम्मेदवार छनोटका लागि संसदीय समिति गठन गर्ने बिषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशन आगामी पुस २६-२९मा काठमाडौमा हुने तालिका छ । तर, वडा अधिवेशन भने पुस १६ बाटै सुरु हुने कार्यक्रम छ ।

तर, क्रियाशील सदस्यताको वितरण र नवीकरणको काममा ढिलाई हुन थालेपछि संस्थापन पक्ष महाधिवेशनको तालिका सार्नुपर्ने माग गर्दै आइरहेका छन्। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले भने निर्वाचन अगाडि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान लिँदै आएका छन्।

महामन्त्री थापाले सोमबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौ–४ मा आयोजित कार्यक्रममा बोल्दै तोकिएको मितिमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन आकर्षित हुने बताए । ५४ प्रतिशत महाधिेशन प्रतिनिधिहिरुले हस्ताक्षर गरेर माग गरेको विशेष महाधिवेशन बोलाउनुपर्ने समयसीमा पुस २८ सम्ममा छ । 

अर्कोतर्फ प्रतिनिधिसभाको समानुपातिक तर्फ र राष्ट्रियसभाको उम्मेदवार चयनका लागि समेत कांग्रेसभित्र दबाव बढेको छ । कांग्रेसका तल्ला निकायबाट प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाकै उम्मेदवार सिफारिसको सुची अधिकांश जिल्लाबाट केन्द्रमा आइसकेका छन्।

उम्मेदवार चयन गर्न सभापतिको अध्यक्षतामा हुने केन्द्रीय संसदीय बोर्ड गठन गर्नुपर्ने व्यवस्था छ । कांग्रेस विधान अनुसार संसदीय समितिले टिकट बितरण गर्नुपर्ने व्यवस्था छ । समितिमा पदाधिकारीको स्वतः प्रतिनिधित्व हुन्छ भने अरु ११ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ ।

कान्तिपुर संवाददाता

Link copied successfully