भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : कांग्रेस महामन्त्री थापा

'भदौ २३ को घटना कसरी भयो यसको छानबिन हुँदै गर्ला तर यसको जिम्मेवारी सरकारमा बस्ने साथीहरूले लिनुपर्छ । म भए लिन्थेँ । जो छ उसले लिनुपर्छ । प्रधानमन्त्रीले लिनुपर्छ ।'-महामन्त्री थापा

पुस ७, २०८२

कान्तिपुर संवाददाता

The then government should take responsibility for the incident of Bhadra 23: Congress General Secretary Thapa

What you should know

काठमाडौँ — कांग्रेस महामन्त्री गगनकुमार थापाले भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भदौ २३ को घटना अकल्पनीय भएको र नेपालको इतिहासमा दुःखद् भएको बताए । 

सडकमा आक्रोश व्यक्त हुनु स्वाभाविक भएको पनि उनको भनाइ छ । उक्त घटनाबारे तत्कालीन सरकार र प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने उनले बताए । 

नैतिक जिम्मेवारी लिँदैमा कोही सानो नभइने उनले बताए । गत भदौ २३ र २४ गते जेन–जीहरूले भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलन गरेको पनि महामन्त्री थापाको भनाइ छ ।

महामन्त्री थापाले के भने ?

भाद्र २३ गते एउटा अकल्पनीय घटना भयो । नेपालको इतिहासको एउटा दुःखद् घटना, कालो दिन । जहाँ हाम्रा थुप्रै नौजवानहरु गुमायौँ । त्यो घटना नभइदिएको भए हुन्थ्यो भन्ने लागिरहन्छ । आक्रोश व्यक्त भयो सडकमा । त्यसको अर्को पाटो पनि छ । हामीले तत्काल २३ गते बेलुका नै गृहमन्त्रीलाई राजीनामा दिन लगायौँ र सरकारले यसको जिम्मेवारी बोक्नुपर्छ ।

सार्वजनिक ओहोदामा बसेको मान्छेको मोरालिटी ठूलो कुरा हो । पोल्टिकल मोरालिटी अझ ठूलो कुरा हो । म यसको जिम्मा लिन्छु भन्दा कोही सानो हुँदैन । ठूलो पदमा जो छ, उसले बढी जिम्मेवारी लिनुपर्छ । घटना कसरी भयो यसको छानबिन हुँदै गर्ला तर यसको जिम्मेवारी सरकारमा बस्ने साथीहरूले लिनुपर्छ । म भए लिन्थेँ । जो छ उसले लिनुपर्छ । प्रधानमन्त्रीले लिनुपर्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully