कांग्रेसले चुनावको तयारी सुरु गरिसक्यो : कोइराला

नेता कोइरालाले आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने निर्णय पार्टीको केन्द्रीय समितिले गरिसकेको बताए।

पुस ६, २०८२

रासस

Congress has started preparations for the election: Koirala

मोरङ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरिसकेको बताएका छन्।

‘नेपाली कांग्रेस र नेपालको यात्रा : हिजो, आज, भोलि—चुनौती, अवसर र सम्भावना’ विषयक संवादमा नेता कोइरालाले आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने निर्णय केन्द्रीय समितिले गरिसकेको जानकारी दिए।

उनले सरकारले भयमुक्त निर्वाचनको वातावरण बनाउन शान्ति सुरक्षा मजबुत बनाउने, जघन्य अपराधमा संलग्न पाँच हजार फरार कैदी पक्राउ गर्ने, लुटिएका हातहतियार बरामद गर्ने तथा प्रहरीको मनोबल बढाउने कार्य गर्नुपर्ने सुझाव दिए।

कोइरालाले वर्तमान अवस्थामा निर्वाचनबाहेक अर्को विकल्प नभएको उल्लेख गर्दै तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकारले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए। सम्पूर्ण राजनीतिक दलले युवापुस्तालाई स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र संघमा २० प्रतिशत प्रतिनिधित्व गराएमा मुलुकमा सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहिता कायम हुन सक्ने उनको भनाइ थियो।

उनले सामुदायिक विद्यालयको शिक्षालाई अब्बल बनाउन शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्ने धारणा व्यक्त गरे। साथै, विगतको सरकारले बजेट वितरणमा भेदभाव गरेकाले विराटनगर महानगरपालिका अन्य क्षेत्रभन्दा पछाडि परेको आरोप लगाए।

रासस

Link copied successfully