रास्वपाका नेतैपिच्छेका धारणाले पार्टी एकीकरणमा समस्या : घिसिङ

अब रास्वपा सभापति रवि लामिछाने हिरासत बाहिर आएकाले उनीसँग नै निर्णायक छलफल गर्ने मनस्थितिमा आफ्ना साथीहरु रहेको घिसिङले सुनाए ।

पुस ५, २०८२

नारायण शर्मा

Differences in views among RSP leaders cause problems in party unification: Ghising

नवलपरासी — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक मानिएका कुलमान घिसिङले रास्वपाकै समस्याका कारण पार्टी एकता हुन नसकेको बताएका छन् ।

शनिबार साँझ दाउन्ने राजमार्गको स्थलगत निरीक्षण क्रममा कान्तिपुरसँग बोल्दै घिसिङले आफूहरु र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता होस् भन्ने चाहना रहे पनि रास्वपाका नेतैपिच्छेका धारणाले त्यसले मूर्तरुप लिन नसकेको बताएका हुन् ।

'जनचाहनाअनुसार हाम्रा साथीहरु रास्वपासँग संवादमै हुनुहुन्छ तर केही कुरामा एकरुपता आउन सकेको छैन,' मन्त्री घिसिङले भने, 'आजसम्म रास्वपाका साथीहरु जो-जोसँग छलफल भएको छ । उहाँहरुका नेतैपिच्छे फरक-फरक कुरा छन् । त्यसैले पार्टी एकताको विषय अघि बढेको छैन ।'

अब रास्वपा सभापति रवि लामिछाने हिरासत बाहिर आएकाले उनीसँग नै निर्णायक छलफल गर्ने मनस्थितिमा आफ्ना साथीहरु रहेको घिसिङले सुनाए । 'हामी संवादमै छौं । अब रविजीसँग संवाद हुन्छ,' घिसिङले भने, 'जनचाहना यी दुई पार्टी मिल्नपर्छ भन्ने नै छ त्यसका लागि रास्वपा पनि तयार हुनुपर्छ ।'

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully