लुम्बिनी प्रदेशबाट ४ पदाधिकारी र २१ महिलासहित ५३ जना निर्वाचित ।
What you should know
बुटवल — नेकपा एमालेको केन्द्रीय समितिमा लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देही जिल्लाले उल्लेख्य प्रतिनिधित्व गरेको छ । लुम्बिनी प्रदेशबाट केन्द्रीय समितिमा पुगेका ५३ जनामध्ये रुपन्देहीबाट उपाध्यक्ष र सचिवसहित १३ जना समेटिएका छन् ।
लुम्बिनी प्रदेशबाट ४ पदाधिकारीसहित ५३ जना केन्द्रीय समितिमा निर्वाचित भएका छन् । तीमध्ये सबैभन्दा धेरै प्रतिनिधित्व उपाध्यक्ष विष्णु पौडेलको गृह जिल्ला रुपन्देहीबाट भएको हो ।
एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार रुपन्देहीबाट उपाध्यक्षमा विष्णु पौडेल र सचिवमा छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । त्यस्तै केन्द्रीय सदस्यमा खिमलाल भट्टराई, दधिराम न्यौपाने, भूमिश्वर ढकाल, गोमादेवी आचार्य, गोपाल राना, ज्ञानु केसी र जलिल मियाँ निर्वाचित भएका हुन् । तीमध्ये गोपाल राना, ज्ञानु केसी र जलिल मियाँ पहिलो पटक केन्द्रीय समितिमा पुगेका हुन् ।
अनुशासन आयोग सदस्यमा गोपाल भट्टराई, डा. कृष्णप्रसाद न्यौपाने र राजेन्द्रप्रसाद पन्थी निर्वाचित भएका छन् । लेखा आयोग सदस्यमा बाबुराम विश्वकर्मा निर्वाचित भएका छन् । अनुशासन आयोगका पन्थी र लेखा आयोगका विश्वकर्मा पनि पहिलो पटक केन्द्रीय समितिमा पुगेका हुन् ।
केन्द्रीय समितिमा उपाध्यक्ष र सचिवसहित रुपन्देहीको बलियो उपस्थिति देखिएको जिल्ला अध्यक्ष गैरेले बताए । ‘रुपन्देहीबाट एक जना मनोनीतसहित ३५ जना प्रतिनिधि अधिवेशनका लागि पठाएका थियौँ,’ उनले भने, ‘जिल्लाबाट पठाइएकामध्ये ५ जना केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । बाँकी ८ जना आयोजक कमिटी र आयोगमार्फत प्रतिनिधि बन्नु भएको हो ।’
रुपन्देहीपछि लुम्बिनी प्रदेशअन्तर्गत दाङ जिल्लाबाट ९ जना केन्द्रीय समितिमा निर्वाचित भएका छन् । दाङबाट महासचिव शंकर पोखरेलसहित ८ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । दाङबाट नरुलाल चौधरी, शान्ता चौधरी, घनश्याम पाण्डे, मेनका पोखरेल, कोमल वली, जीवन गौतम, सीता सिग्देल न्यौपाने र भागवत विश्वासी निर्वाचित भएका छन् ।
गुल्मीबाट उपाध्यक्षमा गोकर्ण विष्टसहित चार जना निर्वाचित भएका छन् । सदस्यमा प्रदीप ज्ञवाली, जंग नेपाली र रामकुमार झाँक्री निर्वाचित भएका हुन् ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले लुम्बिनी प्रदेशबाट २१ महिलासहित कम्तीमा ५३ जना निर्वाचित भएको जानकारी दिए । ‘उपाध्यक्ष र महासचिवसहित पदाधिकारीमा चार जना निर्वाचित हुनु भएको छ,’ उनले भने, ‘केन्द्रीय समितिमा २१ महिलासहित ४६ जना र विभिन्न आयोगमा ३ जना निर्वाचित भएका छन् ।’
प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधित्व भएको र जिल्लागत विवरण संकलनको काम भइरहेको उनले बताए । प्रदेशमा सबैभन्दा कम प्रतिनिधित्व रोल्पा जिल्लाबाट भएको छ, जहाँबाट गोकुल घर्ती एक जना मात्र निर्वाचित भएका छन् ।
