एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेजस्तो नक्कली पार्टी होइन : ओली

'एमाले जस्तो साँचो कम्युनिस्ट पार्टी । यो झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरण, नक्कली अर्कै कामवाला पार्टी होइन । '-ओली

पुस ४, २०८२

कान्तिपुर संवाददाता

UML is not a fake party that burns down Singha Durbar while wearing the national flag: Oli

What you should know

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् ।

शुक्रबार ११औं महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक, सच्चा कम्युनिस्ट पार्टी भएको जिकिर गर्दै त्यसका हरेक सदस्यले कडा अनुशासनमा रहेर काम गर्नुपर्ने बताएका हुन् ।

पार्टीको सामूहिक प्रयासबाट निकालिएका नीतिविपरीत नचल्न पनि पार्टीका नेता, कार्यकर्तालाई उनले सचेत गराए । अध्यक्ष ओलीले राष्ट्रिय स्वार्थविपरीतका गतिविधि पार्टीका कुनै पनि सदस्यले गरे सह्य नहुने समेत बताए । 

के भने ओलीले ?

एमाले जस्तो साँचो कम्युनिस्ट पार्टी । यो झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरण, नक्कली अर्कै कामवाला पार्टी होइन । यस्तो पार्टीको साँच्चै दृढ अनुशासन चाहिन्छ । म कमरेडहरूलाई भन्न चाहन्छु–हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो । त्यसकारण हरेक व्यक्ति स्वतन्त्र छ । हरेक व्यक्ति आफ्नो अध्ययन, आफ्नो चिन्तन, आफना विचार, आफ्ना निष्कर्षहरू निकाल्न पाउँछ । र योगदान गर्न पाउँछ ।

तर पार्टीका नीति, निर्णय भन्दाविपरीत स्वतन्त्रताको नाममा आफ्नो अध्ययन र निष्कर्षका नाउमा पार्टीका नीति, निर्णय, जो हाम्रा सामूहिक बलबाट, प्रयासबाट निकालिएका छन । ती सामूहिक प्रयासका विरुद्ध मेरा निजी कुरा भनेर सामूहिक हितका विरुद्ध मेरो निजी हित भनेर राष्ट्रिय स्वार्थका विरुद्ध मेरो निजी स्वार्थ भनेर चल्न हुँदैन । त्यसलाई अनुशासन भनिँदैन । र त्यो अनुशासन पनि होइन । बैठकमा मोबाइल बज्न हुँदैन ।

कान्तिपुर

Link copied successfully