कार्यकर्तालाई ओलीको निर्देशन : आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू

अध्यक्ष ओलीले टोलटोलमा सुरक्षा समिति बनाएर जनताको सुरक्षाको काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

पुस ४, २०८२

कान्तिपुर संवाददाता

Oli's instructions to cadres: Walk in rhythm like the army marches

काठमाडौँ — एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नवनिर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाइमा पुर्‍याउने बताएका हुन् । 

पार्टीमा केही समस्या देखिएको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता खालको कुनै पनि कमजोरी हुन नदिने दाबीसमेत उनले गरे । नवनिर्वाचित केन्द्रीय समितिमा नेताहरूलाई एकस्वर भएर पार्टीको विधान महाधिवेशनले तय गरेका वैचारिक, संगठनात्मक र कार्यक्रमिक नीतिअनुसार अघि बढ्न पनि उनले सचेत गराए । 

‘हामी एकताको भावनाका साथ नयाँ उचाइका साथ अगाडि बढ्नेछौँ । केही केही समस्या समय-समयमा पार्टीभित्र थोरै देखापर्ने पनि गरेका छन् । आगामी दिनमा हामी त्यस्ता खालका कमजोरीहरु कुनैपनि प्रकट नहुन भन्ने कामना गर्दछौँ । हाम्रो एक आवाज हुनुपर्दछ । दोस्रो विधान महाधिवेशनले पारित गरेका वैचारिक, संगठनात्मक, कार्यक्रमिक नीतिअनुसार हामी अगाडि बढ्नेछौँ । र ती नीतिहरूमा एकस्वर भएर परेडमा आर्मीले मार्च गरेजस्तो हाम्रा हातहरू पनि बराबर हल्लिने, खुट्टाहरू पनि बराबर चल्ने गरी ताल मिलाएर हामी अघि बढ्नेछौँ ।’

अध्यक्ष ओलीले टोलटोलमा सुरक्षा समिति बनाएर जनताको सुरक्षाको काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully