एमाले पदाधिकारीमा पराजितको प्रतिक्रिया : पार्टीलाई लोकतान्त्रिक प्रक्रियामा फर्काउन सफल भयौं

‘नतिजा अध्यक्ष ‌ओलीले चाहेअनुसार आयो । पार्टी लोकतान्त्रिक अभ्यासमा त गयो तर प्रतिस्पर्धामा प्रतिनिधिले विवेकको प्रयोग गर्ने अवस्था आठौं र नवौं महाधिवेशनमा जस्तो भएन ।’

पुस ३, २०८२

जयसिंह महरा

UML office bearers react to defeat: We succeeded in returning the party to the democratic process

What you should know

काठमाडौँ — एमाले महाधिवेशनमा ईश्वर पोखरेलको समूहबाट सहभागी भएका उम्मेदवारहरू पराजित भए । तर,पार्टीलाई लोकतान्त्रिक विधिमा फर्काउन केही हदसम्म सफल भएको आभाष उनीहरूले प्रतिक्रिया जनाएका छन् ।

१०औँ महाधिवेशनमा सौराहामा ओलीले पहिला सहमतिको सूची भन्दै पदाधिकारी र केन्द्रीय सदस्य घोषणा गरेका थिए । त्यसमा असहमत हुनेहरूलाई चुनावमा आउन भनेका थिए । यसपटक भने केही सर्वसम्मति भए बाहेकका पदमा चुनाव भयो । यसलाई लोकतान्त्रिक विधिमा पार्टी फर्किएको पराजित उम्मेदवारहरूको प्रतिक्रिया छ ।

अध्यक्षमा पराजित ईश्वर पोखरेलले महाधिवेशनमा उठान गरिएका मुद्दाले निरन्तरता पाउनुपर्ने बताएका छन् । उनले भनेका छन्, 'महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी संचालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले संचालन गर्न ‘नियन्त्रण र सन्तुलन'को सिद्धान्तको पालन आदि महत्वपूर्ण विषयहरूले बहस र छलफलले नयाँ स्तरमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु ।' देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा आफ्नो सहभागिता निरन्तर रहने पोखरेलको भनाइ छ ।  

एमालेका पाँच उपाध्यक्षमा पुरुष मात्रै विजयी बने । एकमात्र महिला उम्मेदवार बिन्दा पाण्डे पराजित हुन पुगिन् । उनी केन्द्रीय सदस्यमा भने निर्वाचित भएकी छन् । पार्टीमा लोकतन्त्र पुनर्स्थापित भएकोमा आफूलाई सन्तोष लागेको तर परिणाम भने स्वाभाविक आएको उनको टिप्पणी छ । ‘म त कारबाही परेर भर्खर फिर्ता भएको मान्छे, नेतृत्वले कर्के आँखा लगाएको बेलामा प्रतिनिधिले मेरो सन्दर्भमा ढुक्कले आफ्नो निर्णय गर्ने अवस्था बन्छ भन्ने लागेको थिएन । त्यस्तो अवस्थामा पनि एक हजार १२१ प्रतिनिधिले (केन्द्रीय सदस्यमा) आशा र विश्वासका साथ मत हाल्नुभयो,’ पाण्डेले भनिन्, ‘यो महाधिवेशनको मूल कुरा भनेको पार्टीलाई अलिकति लोकतान्त्रिक प्रक्रियामा फर्काउन सक्ने स्थिति बन्यो । १० औँ महाधिवेशनमा सौराहामा जाँदा पहिला घोषणा गरेर पछि चुनावको प्रक्रियामा गइएको थियो । अहिले जबजले भनेको बाटोमा एक स्टेप ल्याउन सक्यौं ।’ यो महाधिवेशनमा प्रतिनिधि चयनदेखि नै इतर पक्ष दबाबमा रहेको पनि पाण्डेको भनाइ छ ।  महाधिवेशनका विभिन्न प्रक्रियामा कहाँ के भएको थियो भन्ने समीक्षा गर्न बाँकी रहेको पनि उनले बताइन् ।  आगामी दिनमा पार्टीको मूल चुनौती आसन्न निर्वाचन र जनतामा पार्टीप्रति बनेको धारणा परिवर्तन रहेको पाण्डेको भनाइ छ ।  

ओली समूहबाट उपमहासचिवमा प्रतिस्पर्धा गरेका विष्णु रिमाल पराजित बने । उनी केन्द्रीय सदस्यमा पनि जित्न सकेनन् । चुनावी प्रतिस्पर्धामा सहभागी भएपछिको परिणाम स्वीकार गर्नुपर्ने उनको प्रतिक्रिया छ । 'चुनावी प्रतिस्पर्धा भएपछि कि जित हुने कि हारिने हो । मान्छेलाई मन परेन भोट हालेनन्, हारियो । चुनाव हो कसैको बढी भोट आयो जित्नुभयो, कम भोट आउने हार्नुभयो,' रिमालले भने ।

पोखरेल समूहबाट सचिवमा उम्मेदवार बनेर पराजित भएका कर्ण थापाले महाधिवेशनको परिणामले ओलीलाई जसरी चाह्यो त्यसरी पार्टी अगाडि बढाउने गरी नतिजा दिएको बताए । पोखरेलभन्दा पहिलेदेखि नै ओलीको विपक्षमा उभिएका थापाले आगामी दिनमा पार्टी कसरी अगाडि बढ्छ भन्ने कुरा ओलीमा नै निर्भर रहेको बताए । ‘महाधिवेशनको परिणाम स्वीकार गर्नुपर्छ  । टिको लगाएर नेतृत्वमा जाने अभ्यास स्थापित हुन खोज्दै थियो, हामीले प्रतिस्पर्धाको स्थिति बनायौं,’ थापाले भने, ‘नतिजा अध्यक्ष ‌ओलीले चाहेअनुसार आयो । पार्टी लोकतान्त्रिक अभ्यासमा त गयो तर प्रतिस्पर्धामा प्रतिनिधिले विवेकको प्रयोग गर्ने अवस्था आठौं र नवौं महाधिवेशनमा जस्तो भएन ।’

पार्टीभित्र ओली चर्चित भए पनि जनतामा भने त्यस्तो अवस्था नरहेकाले सजग भएर अगाडि बढ्नुपर्ने थापाको धारणा छ । ‘जनतामा पनि पार्टी छ, त्यहाँ अध्यक्षप्रति सकारात्मक धारणा छैन । पार्टीमा भने एकछत्र उहाँले जे चाह्यो त्यो हुने अवस्था छ । आगामी दिनमा अध्यक्षले कसरी लानुहुन्छ भन्ने उहाँमा नै भर पर्छ,’ थापाले भने । 

केन्द्रीय सदस्यमा निर्वाचित तर सचिवमा पराजित ठाकुर गैरेले पार्टीमा आवश्यक लोकतान्त्रिक अभ्यास र अपेक्षा केही हदसम्म पूरा भएको बताए । 'पार्टीमा लोकतान्त्रिक अभ्यासको अपेक्षा र माग थियो, त्यो परिस्थिति निर्माण भयो । आगामी दिनमा यो अभ्यासलाई अझ सुदृढ कसरी गराउन सकिन्छ भन्नेबारे विमर्श आवश्यक छ,' गैरेले भने, 'समग्रमा राम्रो लोकतान्त्रिक अभ्यास भयो । कतिपय आफ्नो तहबाट भएका कमीलाई सुधारेर जानेछौं । महाधिवेशन प्रतिनिधिले जिल्ला फर्किएर कस्तो भूमिका निर्वाह गरेर आयौं भन्ने समीक्षा पनि गर्नुहोला ।' कार्यकर्ता र शुभचिन्तकले खोजेजस्तो सामूहिक नेतृत्व चयन गर्न सकियो कि सकिएन भन्ने विषयमा समीक्षा हुने उनको अपेक्षा छ ।

सदस्यमा पराजित उषाकिरण तिम्सिनाले भने पार्टी बदलिनुपर्छ कि पर्दैन भन्ने विवादमा अहिलेको अवस्था नै ठिक छ भन्ने महाधिवेशनको म्यान्डेट आएको बताएकी छन् । उनको भनाइ छ, 'पार्टीमा हामी बदलिनुपर्छ कि पर्दैन भन्ने विवाद थियो । महाधिवेशनले जे छ ठिकै छ भन्ने निर्णय दियो ।'

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully