तीन महिनामा ३० भन्दा बढी भ्रष्टाचारका मुद्दा अदालत पुगिसकेको संचारमन्त्रीको दाबी

उनले विगतका दिनहरूमा प्रभाव र दबाबका कारण मुद्दाहरू अगाडि बढ्न नसक्ने अवस्था भएको बताउँदै अहिले राज्यका निकायलाई स्वतन्त्र रूपमा काम गर्न सरकारको तर्फबाट वातावरण बनाएको बताए।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Communications Minister claims that more than 30 corruption cases have reached court in three months

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जी आन्दोलनपछि सरकारले पाएको तीनवटा म्यान्डेटअनुसार कामहरू भइरहेको बताउँदै भ्रष्टाचार नियन्त्रण, सुशासन र निर्वाचनका काम भइरहेको बताएका छन्।

बिहीवार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, 'तीन महिनाको अवधिमा ३० वटा भन्दा बढी भ्रष्टाचारका मुद्दा अहिले अदालत पुगेका छन् र कारबाही अगाडि बढेको छ।'

उनले विगतका दिनहरूमा प्रभाव र दबाबका कारण मुद्दाहरू अगाडि बढ्न नसक्ने अवस्था भएको बताउँदै अहिले राज्यका निकायलाई स्वतन्त्र रूपमा काम गर्न सरकारको तर्फबाट वातावरण बनाएको बताए। उनले सरकारअन्तर्गतका निकायलाई स्वतन्त्रता दिएको बताउँदै भ्रष्टाचार नियन्त्रणसम्बन्धी मुद्दाहरू अहिले मज्जाले अगाडि बढिरहेको पनि बताए।

संचारमन्त्री खरेलले निर्वाचनको तयारी पनि तीव्र भइरहेको बताउँदै सरकारले सबैखालका स्रोत, साधन र जनशक्ति तयार गरेर निर्वाचनलाई सफल बनाउने वातावरणमा लागेको बताए। उनले दलहरूले उम्मेदवार सिफारिसको काम थालिसकेको भन्दै भने, 'करिब करिब सबै राजनीतिक दल चुनावमा होमिइसकेको देख्छौँ। कतिपय राजनीतिक दल महाधिवेशन गर्दै हुनुहुन्छ, गर्नेवाला हुनुहुन्छ, गाउँदेखि शहरसम्म अभियान चलाउनुभएको छ।'

उनले ८ लाखभन्दा बढी नयाँ मतदाताले उत्साहपूर्वक मतदाता नामावली दर्ता गरेको उल्लेख गर्दै भने, 'निर्वाचन अव उत्सव होइन, महोत्सव बन्दैछ। मुलुक निर्वाचनमा अघि बढिसक्यो।'

कान्तिपुर

Link copied successfully