निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री

उनले फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने अठोटका साथ अहोरात्र खटेर तयारीका काम धेरै अघि बढाइसकेको बताइन् ।

पुस २, २०८२

कान्तिपुर संवाददाता

We are eager to hand over power to the elected government: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन्।

ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। भदौ २३ र २४ गतेको जेन–जी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको बताउँदै उनले सुशासन र निर्वाचन आफ्ना मुख्य एजेन्डा भएको बताइन् ।

उनले फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने अठोटका साथ अहोरात्र खटेर तयारीका काम धेरै अघि बढाइसकेको बताउँदै भनिन्, 'उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु।'

प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि खालको अराजकताले ठाउँ पाउन नहुने बताउँदै शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको पनि बताइन्। उनले भनिन्, 'खराब तत्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै हुन्छ। आउनुहोस्, यसमा हातेमालो गरौं ।' 

कान्तिपुर

Link copied successfully