एमाले महाधिवेशन : मतदान बुधबार बिहान ८ बजेपछि

विद्युतीय भोटिङ मेसिनमा समस्या आएको भन्दै बुधबार बिहान ८ बजेदेखि सुरु गर्ने गरी मतदान प्रक्रिया स्थगित गरिएको हो ।

पुस १, २०८२

कान्तिपुर संवाददाता

UML General Convention: Voting begins after 8 am on Wednesday

काठमाडौँ — एमालेमा नयाँ नेतृत्व चयनका लागि मंगलबार हुने भनिएको मतदानको कार्य स्थगित भएको छ । विद्युतीय भोटिङ मेसिनमा समस्या आएको भन्दै बुधबार बिहान ८ बजेदेखि सुरु गर्ने गरी मतदान प्रक्रिया स्थगित गरिएको हो । केपी ओली पक्षका महासचिवका उम्मेदवार शंकर पोखरेलले बन्दसत्र हलमा भोलि बिहान ८ बजेदेखि मतदान हुने घोषणा गरेका थिए ।

यसअघि आज साँझ ७ बजेदेखि मतदान हुने भनिएकाले प्रतिनिधिहरु लामबद्ध भएर बसेका थिए । 

तीन सय एक सदस्यीय नयाँ कार्यसमितिका लागि करिब ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइने बताइएको छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्ने छन् । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । 

एमालेको ११ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा तीनदिनदेखि जारी छ । महाधिवेशन उद्घाटन भने मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा गरिएको थियो ।  

कान्तिपुर

Link copied successfully