फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छ : वर्षमान पुन

६ महिनामा चुनाव गर्छु भनेर कमिटमेन्ट गरेर त्यो म्यान्डेट लिएर आएको सरकारले किन चुनाव नगराउने । गराउँदिन भन्न पाउँदैन  । - नेता पुन

पुस १, २०८२

कान्तिपुर संवाददाता

If there is no election on Falgun 21, the government's legitimacy will end: Barshaman Pun

काठमाडौँ — नेकपाका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता पुनले संविधानअनुसार नै ६ महिनाभित्र निर्वाचन गराउनेगरी म्यान्डेट दिइएको उल्लेख गर्दै तोकिएको मितिमा निर्वाचन नभए सरकारको औचित्य नरहने तर्क गरेका हुन् । 

नेता पुनले निर्वाचन मिति सार्न सकिन्छ भन्ने मतमा कुनै तर्क नरहेको जिकिरसमेत गरे । 

नेता पुनले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने गरी पुँजीगत खर्च गर्नुपर्नेसमेत बताए । जेन-जी आन्दोलनले ध्वस्त बनाएका निजी क्षेत्रको उद्योग, व्यवसायलाई राहत दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

यस्तो छ पुनको भनाइ

मान्छे जान्ने भएर चुनाव सर्छ भन्ने गर्दछन् । सर्नुको अर्थ संविधान अझ मिचिनु हो । किनभने अस्ति संसद् विघटन भएको ६ महिना पुग्न ७ दिन मात्रै बाँकी हुनेगरी निर्वाचनको मिति तोकिएको छ । फागुन २१ मा चुनाव र फागुन २८ गते ६ महिना पुग्छ । त्यो ७ दिनभित्र रिजल्ट आउँछ भनेर चुनावको मिति घोषणा गरिएको हो । चनुाव सर्नुको अर्थ यो सरकारको औचित्य सकिन्छ ।

६ महिनामा चुनाव गर्छु भनेर कमिटमेन्ट गरेर त्यो म्यान्डेट लिएर आएको सरकारले किन चुनाव नगराउने । गराउँदिन भन्न पाउँदैन । त्यो परामर्श गरेर नै तय गरिएको हो । त्यसो हुनाले ६ महिनाभित्र चुनाव नगराएर यो सरकारको म्यान्डेट सिद्धिन्छ ।

कान्तिपुर

Link copied successfully