मंगलबार बिहानै एकाएक सामाजिक सञ्जालमार्फत् ज्ञवालीले अध्यक्षमा ओली र अन्य पदहरुमा पनि ओली प्यानलकै पक्षमा मत मागेका छन् ।
काठमाडौँ — आफूलाई अध्यक्ष केपी शर्मा ओलीले महासचिवको उम्मेदवार नबनाएपछि बिच्किएका प्रदीप ज्ञवालीले आज अध्यक्षका लागि ओलीकै पक्षमा मत मागेका छन् ।
शंकर पोखरेललाई नै महासचिवमा दोहोर्याउन चाहेपछि सोमबार ज्ञवाली मनोनयनस्थल भृकुटिमण्डपबाट फन्किँदै हिँडेका थिए । तर मंगलबार बिहानै एकाएक सामाजिक सञ्जालमार्फत् ज्ञवालीले अध्यक्षमा ओली र अन्य पदहरुमा पनि ओली प्यानलकै पक्षमा मत मागेका छन् ।
उनले एमालेको एमालेको आन्तरिक जीवन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिका लागि दूरगामी अर्ध राख्ने भएकाले ओली र ओलीको प्यानललाई मत दिन एमालेका मतदातालाई अनुरोध गरेका छन् ।
उनले भनेका छन्, ‘ नेकपा (एमाले) को आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिङ्गो टिमलाई शानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु ।’
यस्तै उनले केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी दिएका छन् । सधैं आफू पार्टी र नेतृत्वसँगै रहने भन्दै आफूलाई केन्द्रीय कमिटी सदस्यमा मतदान गर्न अनुरोधसमेत गरेका छन् ।
मंगलबार ओली पक्षबाट पृथ्वीसुब्बा गुरुङ र ज्ञवालीले समेत महासचिवमा दाबी गरेका थिए । तर दुवै जनालाई ओलीले उपाध्यक्षमा 'एडजस्ट' गर्न खोजेका थिए । तर ज्ञवालीले भने उपाध्यक्षमा उम्मेदवारी नदिने बताउँदै महाधिवेशनस्थल भृकुटीमण्डपबाटै निस्किएका छन् । सोही कारण उनले केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी दिएका हुन् ।
