कांग्रेसमा उम्मेदवार चयन : तेह्रथुमबाट गगनको नाम, पाँचथरमा आकांक्षीको लाम

आकांक्षीहरूको नाममा सहमति जुट्न नसकेपछि महामन्त्री थापाको नाम सिफारिस

पुस १, २०८२

लक्ष्मी गौतम

Congress candidate selection: Gagan's name from Tehrathum, queue of aspirants in Panchthar

What you should know

पाँचथर — कांग्रेस तेह्रथुमले प्रतिनिधिसभा सदस्यमा महामन्त्री गगनकुमार थापाको मात्रै नाम सिफारिस गरेको छ । निवर्तमान सांसद सीता गुरुङ र नेता तुलसी सुब्बालगायतको नाम छोड्दै कांग्रेसले महामन्त्री थापाको नाम सिफारिस गरेर पठाएको हो ।

यहाँबाट गुरुङ र सुब्बासहितका चार जना नेताले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने आकांक्षा राखेका थिए । यद्यपि आकांक्षीहरूको नाममा सहमति जुट्न नसकेपछि थापाको नाम सिफारिस गरिएको कांग्रेस तेह्रथुमका सभापति अर्जुनबहादुर तुम्बाहाम्फेले जानकारी दिए ।

यसअघि उनी २०७९ मा काठमाडौं-४ बाट निर्वाचित भएका थिए । काठमाडौं-४ सहित थापालाई यसपालि  सर्लाही-४, रोल्पा र धनकुटाबाट पनि सिफारिस गरिएको छ । 

आकांक्षीमध्ये सुब्बालाई २०७९ सालको प्रतिनिधिसभा सदस्य उम्मेदवार सीता गुरुङमाथि अन्तरघात गरेको भन्दै पार्टीले कारबाही गरेको थियो ।

यता पाँचथरबाट कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा र समानुपातिकतर्फ आकांक्षी सबैको नाम सिफारिस गरेर पठाएको छ । एकल नाम सिफारिस गर्ने प्रयासमा सहमति नजुट्दा सबैको नाम पठाइएको पाँचथर कांग्रेसले जनाएको छ ।

कांग्रेस पाँचथरबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सिफारिस गरेका व्यक्तिहरूमा केन्द्रीय सहमहामन्त्री भिष्मराज आङदेम्वेलगायत ८ जना छन् । पाँचथरबाट आङदेम्वे, निवर्तमान जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, वर्तमान सभापति रुपनारायण जवेगू, तुम्वेवा गाउँपालिकाका पूर्व ध्यक्ष होम थापा, महाधिवेशन प्रतिनिधि कौशिला गुरुङ, पूर्व उपसभापति जयप्रसाद रिजाल, युवा नेता धर्मेन्द्र विक्रम नेम्वाङ र सूर्य नेम्वाङको नाम सिफारिस गरिएको हो ।

यस्तै राष्ट्रिय सभाका लागि चन्द्रकुमार आङदेम्वे, निरबहादुर धमला (विमल), सुरेन्द्रकुमार तिम्सिना र सुरेन्द्रकुमार दाहाल तथा प्रतिनिधिसभा समानुपातिकतर्फ शान्ता बाँस्कोटा, जनिमाया थापा मगर, तेजमाया सुहाङ, मधु जवेगू, गंगामाया थेगिम, देवीप्रसाद काफ्ले, विमला सुब्बा र डीबी गुरुङको नाम सिफारिस भएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully