संशोधित कार्यतालिकाअनुसार मतदान भोलि बिहान ११ देखि साँझ ५ बजेसम्म हुनेछ ।
काठमाडौँ — नेकपा एमालेको जारी ११औं महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि तय गरिएको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै मिति र समयसहितको कार्यतालिका लागू हुने जनाएको हो ।
संशोधित कार्यतालिकाअनुसार उम्मेदवारको दरखास्त फाराम वितरण आज बिहान ९ देखि दिउँसो २ बजेसम्म महाधिवेशनस्थलमै गरिएको छ । यस्तो दिउँसो ३:३० सम्म उम्मेदवारको दरखास्त फाराम दर्ता गर्ने समय तोकिएको छ ।
दरखास्त दर्ता सम्पन्न भएपछि आजै दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । प्रारम्भिक नामावलीप्रति उजुरी दिने समय दिउँसो ४ देखि ४:३० बजेसम्म तोकिएको छ । उजुरी उपर छानबिन र निर्णय साँझ ५ बजेसम्म सम्पन्न गरिनेछ भने उम्मेदवारको नाम फिर्ता साँझ ५ देखि ६ बजेसम्म गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी उम्मेदवारको अन्तिम नामावली बेलुका ६:३० बजेसम्म प्रकाशन गरिनेछ ।
संशोधित कार्यतालिकाअनुसार मतदान भोलि मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । मतदान सम्पन्न भएपछि सोही दिन मतगणना सुरु गरिनेछ ।
मतगणनापछि निर्वाचन परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहण कार्यक्रम निर्वाचन समितिले तोकेको समयअनुसार महाधिवेशनस्थलमै सम्पन्न गरिने केन्द्रीय निर्वाचन आयोगका सचिव कुन्साङ लामाद्वारा जारी सूचनामा उल्लेख छ ।
