कांग्रेसको नेतृत्व जिम्मेवारीमा चुक्दा देशले मूल्य चुकाउनुपर्‍यो : महामन्त्री थापा

महामन्त्री थापाले राष्ट्रिय शक्तिसँग राष्ट्रिय जिम्मेवारी हुन्छ भन्दै कांग्रेसको नेतृत्व चुक्दा त्यसको मुल्य देशले चुकाउनुपरेको बताए।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

The country had to pay the price when the Congress leadership failed in its responsibilities: General Secretary Thapa

ललितपुर — कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण राष्ट्रिय शक्ति भएको बताएका छन्।

कांग्रेस ललितपुरले नखिपोटमा आज गरेको पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले राष्ट्रिय शक्तिसँग राष्ट्रिय जिम्मेवारी हुन्छ भन्दै राष्ट्रिय शक्ति चुक्दा त्यसको मुल्य देशले समेत चुकाउनुपरेको बताए।

'कांग्रेसलाई केवल निर्वाचनका लागि मात्रै शक्ति चाहिएको हैन, देशलाई निकास दिनका लागि पनि शक्ति आवश्यक छ, कांग्रेस पार्टी मात्रै हैन, राष्ट्रिय शक्ति समेत हो,' महामन्त्री थापाले भने, 'कांग्रेसलाई हिम्मत र साथ आवश्यक छ, विगतमा कांग्रेसले देशलाई हिंसाबाट बाहिर ल्यायो, कांग्रेस आफू हारेर पनि देशलाई जिताउने पार्टी हो भनेर प्रमाणित गरेको छ, कांग्रेसले सबैलाई समेट्ने प्रयास गरेको छ।'

निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम नेपाली कांग्रेसको हो भन्दै महामन्त्री थापाले कांग्रेसले राम्रो काम गरे मतदाताले आफै पछ्याउने बताए।

भीडलाई उचाल्ने र उत्तेजित बनाउने काम कांग्रेसको हैन भन्दै उनले कुशासनबाट आजित भएका नागरिकलाई सम्हालेर देशलाई सुशासन तथा विकासको उचाईमा पुर्‍याउने जिम्मेवारी रहेको बताए।

कान्तिपुर संवाददाता

Link copied successfully