प्रत्यक्षतर्फ ११ जना, समानुपातिकतर्फ १२ जना र राष्ट्रिय सभा सदस्यका लागि ४ जनाको नाम प्रदेश कार्य समितिमा सिफारिस गरेको जिल्ला कार्य समिति सचिव कृष्णबहादुर अधिकारीले जानकारी दिए ।
What you should know
लमजुङ — नेपाली कांग्रेस लमजुङले आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारका लागि २७ जनाको नाम सिफारिस गरेको छ ।
प्रत्यक्षतर्फ ११ जना, समानुपातिकतर्फ १२ जना र राष्ट्रिय सभा सदस्यका लागि ४ जनाको नाम प्रदेश कार्य समितिमा सिफारिस गरेको जिल्ला कार्य समिति सचिव कृष्णबहादुर अधिकारीले जानकारी दिए ।
केन्द्रले उम्मेदवार छनौट गर्दा सकेसम्म सर्वसम्मत र नभए बढीमा ३ जनाको नाम सिफारिस गर्न परिपत्र गरे पनि कांग्रेस लमजुङले निवेदन दिएका सवैको नाम सिफारिस गरेको छ । ‘आकांक्षी धेरै भए । कस्को नाम पठाउने, कस्को हटाउने ? जिल्ला कार्य समितिले निर्णय गरेर प्रदेशमा सिफारिस गर्यौं, छनौट प्रदेशले गर्लान् ।’ उनले नेपाली वर्णानुक्रम अनुसार नाम लेखेर सिफारिस गरिएको बताए ।
कांग्रेसले प्रतिनिधि सभा प्रत्यक्षतर्फ गमप्रसाद गुरुङ, चन्द्रबहादुर कुँवर, डिकेन्द्रराज कँडेल, तुलसीनारायण श्रेष्ठ, विष्णुप्रसाद धिताल, बृषराज गुरुङ, राजकुमार गुरुङ, शिवराज रिमाल, शैलेन्द्र घिमिरे, सुबोध बाबु चिलुवाल र यमबहादुर गुरुङको नाम सिफारिस गरेको छ ।
जिल्ला अधिवेशनमा पार्टी सभापति टकराज गुरुङसंग पराजित गमप्रसाद जिल्ला कार्य समिति सदस्य हुन् । २०७० को संविधान सभा सदस्य निर्वाचनमा एमालेका पृथ्वीसुब्बा गुरुङलाई पराजित कुँवर जिल्ला कार्य समितिका पूर्व सभापति हुन् । कँडेल महाधिवेशन प्रतिनिधि हुन् भने श्रेष्ठ जिल्ला कार्य समितिका पूर्व सभापति हुन् ।
धिताल र बृषराज दुवै पूर्व क्षेत्रीय सभापति हुन् । राजकुमार नेविसंघका केन्द्रीय सदस्य हुन् । रिमाल नेविसंघ केन्द्रीय पूर्वकोषाध्यक्ष हुन् । घिमिरे नेविसंघ जिल्ला पूर्व सभापति हुन् । चिलुवाल काठमाडौं जिल्ला बार एशोसिएशनका अध्यक्ष हुन् । यमबहादुर तरुण दलका पूर्वकेन्द्रीय महासचिव हुन् ।
समानुपातिकतर्फ अस्मिता गुरुङ, कोपिला विक, धनकुमारी गुरुङ, भिउसिन दमै, भिमबहादुर दुरा, राधादेवी श्रेष्ठ, रामकृष्ण बराल, स्थिरबाबु खाती, सन्तोष न्यौपाने, सुरेन्द्रप्रसाद पौडेल, हुमराज दवाडी र ज्ञानु शाहको नाम सिफारिस गरिएको कांग्रेस लमजुङले जनाएको छ ।
राष्ट्रियसभा सदस्यका लागि गर्जबहादुर गुरुङ, तीर्थबहादुर थापा, विष्णुमाया न्यौपाने धिताल र शुभनाथ मिश्रको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ । गर्जबहादुर गुरुङ २०७४ को प्रदेशसभा निर्वाचनमा लमजुङ प्रदेश (क) बाट पराजित भएका नेता हुन् ।
