कुनै बेला ओलीलाई 'फुटबलको पेले' भन्ने कृष्णगोपाल अहिले ईश्वरतिर लागे 

कुनैबेला ‘केपी ओली इज द केपी ओली, फुटबलको पेलेजस्तै हो, कोही माइकालाल छ सडकमा ल्याएर पछार्न सक्ने ?' भन्ने कृष्णगोपाल श्रेष्ठले अहिले भने ईश्वर पोखरेल समूहबाट सचिवमा उम्मेदवारी दिने भएका छन् ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

Krishnagopal, who once called Oli the 'Pele of football', has now turned to God.

What you should know

काठमाडौँ — कुनै बेला केपी शर्मा ओलीलाई 'फुटबलको पेले' भन्ने एमाले नेता कृष्णगोपाल श्रेष्ठ पछिल्लो समय भने ईश्वर पोखरेल समूहमा खुलेका छन् । १०औं महाधिवेशनबाट एमाले स्थायी कमिटी सदस्यमा चुनिएका उनी ११औं महाधिवेशनमा भने पोखरेल समूहबाट सचिवमा उम्मेदवार नै बन्ने भएका छन् । 

उनै श्रेष्ठ कुनै बेला भने केपी ओलीको प्रशंसामा लामो समय खर्चन्थे ।  २०७८ सालमा शिक्षामन्त्री हुँदा श्रेष्ठले ओली शक्तिशाली रहेको भन्दै फुटबलका महान खेलाडी पेलेसँग तुलना गरेका थिए ।

त्रिवि दीक्षान्त समारोहमा उनको भाषण चर्चितसमेत बन्यो । उनले त्यतिबेला भनेका थिए, ‘केपी ओली इज द केपी ओली, फुटबलको पेलेजस्तै हो, कोही माइकालाल छ सडकमा ल्याएर पछार्न सक्ने ? के राजीनामा दे भन्दा यत्तिकै राजीनामा दिन मिल्छ ? ढुक्क हुनूस् हिजोको भन्दा पावरफुल सरकारको एजुकेसन मिनिस्टर तपाईंहरूको अगाडि छ । यो कुनै अदालतको माया पाएर आएको सरकार हो ? अदालतको फैसलाले समाधान निस्किँदैन ।’

श्रेष्ठ यसअघि २०७९ मा काठमाडौं-९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।  त्यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ मा काठमाडौं ५ र मध्यावधि निर्वाचन २०५१ मा काठमाडौं ७ बाट निर्वाचित भएका थिए । यस्तै, संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पनि उनी काठमाडौं-९ बाट निर्वाचित भएका थिए ।

२०५९ सालमा स्थानीय विकास राज्यमन्त्री भएका श्रेष्ठ केपी ओली नेतृत्वको सरकारमा २०७७ सालमा मन्त्री बनेका थिए ।

विद्यार्थी राजनीति हुँदै उनी २०३५ सालदेखि नेकपा (माले)मा आबद्ध भएका थिए । उनी अनेरास्ववियुको त्रिवि कमिटी अध्यक्ष, २०३५ देखि २०४७ सम्म नेकपा (माले) को काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीमा विभिन्न जिम्मेवारीमा रहेका थिए ।

२०४९ मा नेकपा (एमाले) को राष्ट्रिय परिषद सदस्य हुँदै उनी २०५४ मा एमालेको केन्द्रीय सदस्य चयन भएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully